
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विध म्यानेजमेन्ट प्रालिका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध ६ करोड २४ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गुल्मीको मालिका गाउँपालिकाका स्थायी बासिन्दा भण्डारी विध ल्याबले सञ्चालन गर्ने विध म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् ।
उक्त कम्पनी सूचना प्रविधि, इलेक्ट्रोनिक्स र मल, कागज जस्ता ठूला ठेक्कामा पनि संलग्न हुन थालेको थियो । भण्डारीले २०७३ असोज २१ देखि २०७७ साउन १ सम्म सरकारी सेवामा रहँदा उक्त रकम गैरकानूनी रूपमा आर्जन गरेको दाबी अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ ।
उनको खर्च र लगानी (जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । विशेष अदालतमा दायर गरिएको मुद्दामा अख्तियारलले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो दाबी गरेको गनुर््का साथै उनीसँग रहेको ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार उनको एकल स्वामित्वमा रहेको कम्पनीहरुबाट जफत गर्न माग गरिएको छ ।
भण्डारी २०७७ सालको असारसम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा कार्यरत थिए । कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिदमा बदनाम भएको ओम्नी कम्पनीमा पनि उनी संलग्न रहेका थिए । अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना पनि माग गरेको छ
प्रतिक्रिया दिनुहोस्