दाङ । जिल्लाको शान्तिनगर गाउँपालिका–४ का करिब ५० घरपरिवारले रित्ता गाग्री प्रदर्शन गरेका छन् ।
शुक्रबार करिब १२ बजे शान्तिनगर गाउँपालिकाको कार्यालयमा उनीहरूले रित्ता गाग्री प्रदर्शन गरेका हुन् । खानेपानीको समस्याबारे पटक–पटक जानकारी गराउँदा पनि गाउँपालिकाले सुनुवाइ नगरेपछि प्रदर्शनमा उत्रिनुपरेको स्थानीय रमेश चलाउने बताउनुहुन्छ ।
प्रति घरले २० हजार रकम दिएर निजी धाराहरू जडान गरे पनि पानी नआउँदा समस्या भएको स्थानीयको गुनासो छ । पानी नआउँदा स्थानीयको दैनिकी प्रभावित हुने गरेको छ भने कतिपयले पालेका पशुहरू पनि बेच्न थालेका छन् ।
पानीको समस्याका कारण सरसफाइमा समेत पर्याप्त ध्यान दिन नसकिएको स्थानीय रेशम खड्का बताउनुहुन्छ । ‘सरसफाइमा त राम्ररी ध्यान दिन सकिएको छैन नै,’ उहाँले भन्नुभयो, ‘कुन दिनदेखि खान समेत पाइँदैन ।’
शान्तिनगर ३ र ४ मा माइली पानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पानी वितरण गदै आएको छ । संस्थामा अहिले ९८० वटा धाराहरू छन् । पानीको मुहान सुक्दै गएको र उपभोक्ता पनि बढ्दै जाँदा माग धान्न नसकिएको संस्थाका अध्यक्ष थम्मन कँडेल बताउनुहुन्छ ।
यस क्षेत्रमा अहिले दैनिक ८ लाख लिटर पानीको माग भए पनि ३ लाख लिटर मात्र पानी आपूर्ति हुने गरेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्