काठमाडौं । वर्षायाम शुरू भएसँगै विपद्जन्य घटना रोक्न काठमाडौं महानगरपालिकाले आवश्यक तयारी गरेको छ । विशेष गरी राजधानीभित्र बग्ने नदी थुनिएर मुख्य सडक र आवासीय क्षेत्र डुबानमा पर्नेलगायतका सम्भावित घटनाबाट जोगिन कामपाले आवश्यक साधनसहित तयारी थालेको छ । कामपा विपद् व्यवस्थापन विभागले विपद् रोक्न सबै आवश्यक सामग्री भण्डारण गरी तयारी अवस्थामा राखेको छ । महानगरले विपद्जन्य घटनाबाट जोगिन र उद्धार गर्न करिब ५० लाख रुपियाँ बराबरको सामग्री खरिद गरिसकेको जनाएको छ ।
कामपा विपद् व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार महानगरसँग ४८ किसिमका सामग्रीको भण्डारण छ । उहाँका अनुसार राजधानीभित्र बग्ने वागमती, विष्णुमती, धोबीखोला, रुद्रमती, टुकुचालगायत नदीमा वर्षातमा भेलबाढी आउँदा वर्षेनी लाखौं रुपियाँबराबरको क्षति हुने गरेको छ । यस्ता क्षतिबाट रोक्न विभिन्न सामग्री व्यवस्थापन गरेको जनाएको छ ।विभागीय प्रमुख श्रेष्ठले बाढी वा अन्य विपद्जन्य घटना भए त्यसबाट उद्धार गर्न ट्युब, स्ट्रेचर, भर्याङ, टर्चलाइट, टोप, रूख काट्ने कटर, डोरी, त्रिपाल, पिग, साबेल, बाल्टीलगायतका सामग्री खरिद गरी भण्डारण गरेको जानकारी दिनुभयो । विपद्का घटना भए कामपा प्रहरी उद्धारमा खटिने उहाँको भनाइ छ ।कामपा प्रहरी प्रमुख धनपति सापकोटाले कामपा प्रहरी सेवामा रहेका १ सय ७३ प्रहरीलाई उद्धारका सबै तालिम दिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘हाम्रा प्रहरीहरू आगलागी, बाढीपहिरोलगायत कुनै पनि विपद्जन्य घटना भए उद्धार गर्न पोख्त छन् ।’विभागले दमकल कार्यालयले विपद् आउँदा नियन्त्रण गर्न प्रयोग हुने सवारीसाधन खरिद गरिसकेको जनाएको छ । बाँकी केही सामग्री खरिद गर्ने प्रक्रियामा रहेको विभागीय प्रमुख श्रेष्ठको भनाइ थियो । उहाँका अनुसार महानगरसँग ५ वटा पम्प, ल्याडर, दमकललगायत सवारीसाधनले उद्धार गर्ने गरी तयारी अवस्थामा राखिएको छ ।श्रेष्ठले राजधानीमा मात्र नभई उपत्यका र राजधानीसँग जोडिएका जिल्लामा विपद्जन्य घटना भएमा त्यसलाई नियन्त्रण गर्न सक्ने गरी सामग्री खरिद गरी भण्डारण गरेको जानकारी दिनुभयो । महानगरले वागदरबारस्थित महानगर प्रहरी कार्यालय, बबरमहलस्थित विभाग, न्युरोड र रामहिटीस्थित दमकलको सब स्टेसनमा सामग्री भण्डारण गरी राखिएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्