Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


आर्थिक संकटतर्फ उन्मुख: भित्रिने भन्दा बाहिरिने रकम बढ्यो


1.2k
Shares

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा मात्रै शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा गएको छ भने कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर मात्र रहेको छ । यसरी नेपालबाट विदेशी मुद्रा बाहिरिने बढी र भित्रिने कम हुँदा मुलुकको आर्थिक स्थिति कमजोर अवस्थामा रहेको र विदेशी विनिमय सञ्चिति घट्दै जाँदा दैनिक उपभोग्य सामग्रीसमेत भित्र्याउन आर्थिक समस्या हुने देखिएको छ । जसका कारण मुलुक पुनः आर्थिक संकटतर्फ उन्मुख देखिएको छ।नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालको विदेशी मुद्रा सञ्चिति महिनैपिच्छे घट्दै गएको छ ।

गत आर्थिक वर्षको १० महिनामा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४१ करोडले घाटामा गएको छ ।गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति वैशाख मसान्तमा आइपुग्दा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा गत वैशाख मसान्तमा २१ प्रतिशत १ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ ।

सरकारले आयातमा कडाइ गर्दै विदेशी मुद्राको सञ्चिति घट्न नदिने प्रयास गरे पनि ओरालो लाग्ने क्रम रोकिएको छैन । पेट्रोलको आयात घटाउन आइतबार बिदा दिने घोषणा गरे पनि त्यसले प्रतिफल नदिएपछि सरकार बिदा दिनबाट पछि हटिसकेको छ ।गाडी आयात पनि रोक्न नसकिएपछि अटोमोबाइल्स एसोसिएसन भने परिणाम सकारात्मक नभएको भन्दै आयात प्रतिबन्ध फुकुवा गर्न लबिङमा जान थालेको छ । सरकारले विदेशिने रकम रोक्न र रेमिट्यान्स भिœयाउन अनेक उपाय गरे पनि सरकार असफल देखिएको छ । १० महिनामा रेमिट्यान्स आप्रवाह शून्य दशमलव २ प्रतिशतले मात्र वृद्धि भएको छ । जबकि, गत वर्ष कारोनाका बाबजुद पनि सो समयमा १९ दशमलव २ प्रतिशतले बढेको थियो । १० महिनामा जम्मा ८ खर्ब ११ अर्ब ७९ करोड मात्र पुगेको छ । अमेरिकी डलरमा रेमिट्यान्स १ प्रतिशत ६ प्रतिशतले कमी आएकाले पनि उत्साह नबढेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।