बाजुरा । स्थानीय निर्वाचनमा मतदानमा धाँधली भएको भन्दै मतगणना स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा अझै निर्वाचनसम्बन्धी अन्योल कायम छ । ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा स्थानीय सरकारसमेत निर्माण भइसकेको अवस्थामा बुढीगंगा नगरपालिकामा भने पुनःनिर्वाचन हुने वा मतगणना हुने भन्ने टुंगो लागेको छैन । निर्वाचन आयोगले पुनःमतदान गर्ने वातावरण तयार गरी निर्वाचन गर्ने अधिकार स्थानीय निर्वाचन अधिकृतको कार्यालयलाई दिएको भए तापनि निर्वाचनका लागि मिति तय नहुँदा निर्वाचनमा अन्योलता छाएको हो ।
एक महिना बितिसक्दा पनि टुंगो नलागेकोले दोधारमा परिएको भन्दै स्थानीय मतदाता धनराज जोशीले नेपाल समाचारपत्रसँग भन्नुुभयो– ‘अषाढ लाग्न थाल्यो खेतीपातीको मौसम छ, नेता चुन्ने की मानो छरी मुरी उब्जाउने, हामी कृषकलाई आपत छ ।’स्वतन्त्र रूपमा मतदान गर्न नपाउँदाको दुखेसो पोख्दै स्थानीय मतदाता रमा विकले भन्नुुभयो– ‘मतदानकै लागि देश विदेशबाट आएका कतिपय मतदाता कर्मथलोमा फर्किसकेका छन् भने कतिपय मतदाता मतदान हुन्छ की हुँदैन भनि पर्खिबसेका छन् ।’ नेकपा समाजवादीका नेता एवं बाह्रविसे गाविसका पूर्व अध्यक्ष नवराज जैशीले सम्बद्ध पक्षले छिट्टै निकास दिनुपर्नेमा जोड दिनुभयो । जनप्रतिनीधिविहीन हुँदा बुढीगंगा नगरपालिकाका नियमित कार्य तथा आगमी वर्षका लागि तय गर्नुपर्ने नीतिकार्यक्रम तथा बजेटसमेत प्रभावित भएको बुढीगंगा नगरपालिकाका कर्मचारी बताउँछन् ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि चक्र शाहले भन्नुभयो– ‘निर्वाचनमा बुथ कब्जा गरी फर्जी मत खसाएका वडाको मात्र पुनःनिर्वाचन हुनुपर्ने हो, नगरपािलकाभरि पुनः निर्वाचन हुनेभयो । त्यो पनि मिति तय हुन सकेको छैन । निर्वाचनमा धाँधली भएको सबैलाई थाहा नै छ । अब बारम्बार गरिने स्थलगत अनुुगमन प्रतिवेदनभन्दा पनि छिटोभन्दा छिटो निर्वाचन कार्यालयले निर्वाचनको मिति तय गरी शान्तिपूर्ण पुनःनिर्वाचन गराउनु जरुरी छ ।’
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्