रौतहट । श्रीमान् कार्यालय सहयोगी, श्रीमती प्रधानाध्यापक, नन्द राहत शिक्षिका, भाउजू बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रौतहटको सदरमुकाम गौरमा रहेको एक सामुदायिक विद्यालयमा एकै परिवारका सदस्यले रोजगारी गर्दै आएको पाइएको छ । विद्यालयमा अध्यापनभन्दा पनि उनीहरूले रोजगारीका लागि विद्यालय सञ्चालन गरेको पाइएको हो । कक्षा ६ सम्म अध्यापन हुने गौर नगरपालिका–४ स्थित श्री आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षदेखि सहयोगीसम्म एकै परिवारका सदस्य रहेका छन् ।
२०६३ सालमा स्थापना भएको उक्त विद्यालयमा श्रीमान् कार्यालय सहयोगी, श्रीमती प्रधानाध्यापक, नन्द राहत शिक्षिका, भाउजू बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेर सञ्चालन गरेको पाइएको छ । विद्यालयको नाममा ती परिवारले नेपाल सरकारबाट उपलब्ध हुँदै पाएको सेवासुविधासमेत उपभोग गर्दै आएको खुलेको छ । पर्याप्त कक्षाकोठा र भौतिक पूर्वाधार रहे पनि विद्यालय भवन जीर्ण भइसकेको छ । कक्षा ६ सम्म अध्यापन हुने तथा २४ जना विद्यार्थी रहेका सो विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रामेश्वर यादव, प्रधानाध्यापकमा उनकी बुहारी सावित्री यादव, बालविकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा उनकै नातिनी निक्की यादव र कार्यालय सहयोगीमा उनकै छोरा अशोक यादव रहेका छन् ।
सदरमुकाममै रहेको सामुदायिक विद्यालयको दुरवस्थाप्रति सरोकार निकायको ध्यान पुग्न सकेको थिएन । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा विजय भएपछि गौर नगरपालिकाका प्रमुख शम्भु साहले निरीक्षण गर्ने क्रममा परिवारवादबाट विद्यालय सञ्चालनमा रहेको पाउनुभएको हो । उहाँले उक्त विद्यालयका अवस्थाप्रति चासो राख्दै विद्यार्थी संख्या नहुनु र परिवार मात्रै कार्यरत रहेको विषयमा जानकारी माग गर्नुभएको छ । नगर प्रमुख साहले भन्नुभयो– ‘शैक्षिक क्षेत्र सुधार गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको छ । विद्यालयजस्तो पवित्र संस्थालाई परिवारवाद बनाएर विद्यार्थीको भविष्य अन्धकार बनाइएको छ ।’
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्