Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


एमालेमा चर्किंदै विवाद


7.1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा विवाद चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्थायी कमिटी सदस्य घनश्याम भुसालले आलोचना गरेपछि पार्टीमा विवाद चर्किएको हो । अध्यक्ष ओलीको आलोचना गर्दै पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको आरोपमा पार्टी अनुशासन आयोगले भुसाललाई कारबाही गर्न केन्द्रीय कमिटीलाई निर्देशन दिएको छ । अनुशासन आयोगको सो निर्देशनसँगै विवाद अब केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएको छ । अनुशासन आयोगका अध्यक्ष केशव बडालले भुसालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएपछि कारबाही प्रक्रियाअगाडि बढाउन निर्देशन दिएको बताए ।

‘कुनै विषयमा असहमति वा फरक मत भए त्यसलाई पार्टी बैठकमा राख्न पाइन्छ, सार्वजनिक रूपमा पार्टी नीतिविपरीत अभिव्यक्ति दिएपछि सो विषय कारबाहीको विषय हुने नै भयो,’ उनले भने ।‘कुनै नेताको फरक मत वा असहमतिका केही विषय भए पार्टी कमिटीको बैठकमा कुरा राख्न पाइन्छ, बाहिर जथाभावी बोल्न पाइँदैन, त्यसैले कारबाही प्रक्रियाअघि बढाउन निर्देशन दिएका हौं,’ बडालले भने । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि नेता भुसालले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा स्थानीय तह चुनावमा एमालेको कमजोर प्रदर्शनप्रति नेतृत्वका हिसाबले अध्यक्ष ओली असफल भएको भन्दै आलोचना गरेका थिए । विगतमा समेत ओलीको गतल एवं मनोमानी कार्यशैलीको भुसालले आलोचना गर्दै आएका थिए ।

पार्टी अध्यक्ष ओलीको बैठकमै आलोचना गर्दै आएका भुसाल सार्वजनिक रूपमै चर्को अलोचना गरेपछि ओलीकै निर्देशनमा अनुशासनको डन्डा चलाइएको भुसाल निकट नेताहरू बताउँछन् । भुसाललाई अनुशासन आयोगले कारबाहीको सिफारिस गरेपछि भुसालनिकट एमाले केन्द्र्र्रीय सदस्य उषाकिरण तिमसेनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अब पोखराका वडामा पार्टीलाई भोट हाल्ने तर मेयरमा नहाल्ने, भरतपुरका वडामा भोट हाल्ने तर मेयरमा भोट नहाल्ने, काठमाडौंमा वडामा भोट हाल्ने तर मेयरमा नहाल्नेहरू सबैलाई स्पष्टीकरण सोधौं । ती सबै भोटरहरू ९एमाले समर्थक० पनि ओलीको आलोचक न परे ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।