Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


एकीकृत समाजवादीका चार मन्त्रीको पद जोगियो


325
Shares

काठमाडाैं । सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयबाट नेकपा एकीकृत समाजवादी पार्टी (एस) पछि हटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारमा रहेका मन्त्रीहरूको दबाबका कारण तत्काललाई सरकारमा रहेका मन्त्री नहट्ने भएका छन् । नेकपा एसले चार मन्त्रीलाई फिर्ता बोलाएर चार जनालाई मन्त्रीका लागि सिफारिस गरेको थियो।

आइतबार बसेको नेकपा एसको बैठकले चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै उक्त ठाउँमा नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो । पार्टीको निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट मन्त्रीमा सिफारिस भएका चार जनाको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएको थियो । नयाँ मन्त्रीहरूको सोमबारका लागि शपथग्रहणको व्यवस्था मिलाउनु होला भनेर अध्यक्ष नेपाल आइतबार बालुवाटारबाट बाहिरिनुभएको थियो । पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, श्रममन्त्री किसन श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष नेपालाई भेटेर सरकारबाट नहटाउन दबाब दिएका थिए ।

जवाफमा नेपालले सहमतिअनुसार नै मन्त्रीबाट फिर्ता बोलाउने निर्णय लिएको र चार जनालाई मन्त्री बनाउन लागिएको जानकारी दिनुभएको थियो । आइतबार रातीसम्म मन्त्री पद थमाउनका लागि चार मन्त्रीको दौडधुप चलेको थियो । सोमबार बिहान नै मन्त्रीका लागि सिफारिस भएकाहरू शपथको लागि तयारी अवस्थामा रहेका थिए । तर, प्रधानमन्त्री कार्यालयबाट कुनै पनि जानकारी नआएपछि चारै जनाले अध्यक्ष नेपाललाई भेटेर दबाब दिएका थिए । यता सरकारमा सहभागी चार मन्त्रीले भने प्रधानमन्त्री देउवालाई भेटेर मन्त्रीबाट नहटाउन आग्रह गरेका थिए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।