Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कक्षा सुरु भएको डेढ महिनासम्म पनि विद्यार्थीले किताब पाएनन्


234
Shares

काठमाडौं । कक्षा सुरु भएको डेढ महिनासम्म पनि गोरखाका विद्यार्थीले किताब पाएका छैनन्। कतिपय ठाउँमा पुराना किताब त धेरै ठाउँमा पाठ्यपुस्तक बिना विद्यार्थी नयाँ कक्षामा पढिरहेका छन्। विद्यार्थीको किताब हेरेर पढ्ने बानी शिक्षकले पनि पाठ्यपुस्तक हेरेर पढाउने गरेका हुँदा किताब अभावले पढ्न, पढाउन समस्या भएको पालुङटार ९ मदनेडाँडा माविका प्रधानाध्यापक रुद्र उप्रेतीले बताए। विद्यार्थी, अविभावकले किताब कहिले आउँछ भनेर बारम्बार सोध्ने गरेको उनले बताए। विद्यार्थीलाई गृहकार्य गराउन पनि समस्या भएको छ।

११ स्थानीय तह रहेको गोरखाका सुगम पालिकामा मात्र होइन दुर्गम चुमनुब्री, धार्चे गाउँपालिकाका विद्यालयमा पनि किताब पुगेको छैनन्। त्यहाँ किताब खच्चड वा मानिसलाई बोकाएर लैजानुपर्छ। दुर्गम क्षेत्रलाई भनेर केही किताब पठाइएको व्यवसायीले बताएपछि सबैलाई पुग्ने गरी किताब नजाँदा शिक्षकले विद्यार्थीलाई उपलब्ध गराउन सकेका छैनन्। विद्यार्थीको साथमा पाठ्यपुस्तक नहुँदा उनीहरुको पढ्ने बानी नै बिग्रिएको गुनासो अविभावकले पनि गर्न थालेका छन्। निजी विद्यालयका विद्यार्थी पढिरहँदा सरकारी विद्यालयका भने पुस्तक नपाउँदा अलमिलएका छन्।

नेपाल पुस्तक तथा स्टेश्नरी व्यावसायी महासंघ गण्डकी प्रदेश सहसचिव प्रदीप खनालले गोरखाका लागि ५० प्रतिशत किताब आएको र अझैं ५० प्रतिशत आउन बाँकी रहेको बताए। ‘आएको किताब आइतबारसम्म विद्यालयहरुमा पुग्छ,’ उनले भने, ‘अपुग किताब पनि छिटो ल्याउने तयारीमा छौँ।’ कक्षा ६ र ८ को किताब आउन केही समय लाग्ने उनले बताए।जिल्लाभर चारदेखि पाँच हजार सेट किताब आवश्यक पर्छ। स्थानीय निर्वाचनको मतपत्र छपाईमा धेरै समय खर्चिएपछि जनक शिक्षा सामग्री केन्द्रले पुस्तक छाप्न नभ्याएको बताउँदै आएको छ। पुस्तक नआउँदा दैनिक ग्राहकलाई फर्काउनुपरेको, शिक्षकहरुले तारन्तार फोन गरेर सोध्ने गरेको व्यवसायी बताउँछन्।

यो समाचार आजका नागरिक दैनिकमा प्रकाशित छ ।