२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024


नेपालीकौ औसत आयु कम भएकाले वृद्धभत्ताको उमेर घटाइयो : अर्थमन्त्री शर्मा

‘विद्युतीय चुल्हो वितरणको कार्यक्रम भोटका लागि मात्र होइन’

169
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताउनुभएको छ ।

बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले १५औं आवधिक योजनाले निकालेको निष्कर्ष अनुसार ६९.७ वर्ष आयु रहेको सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताउनुभयो ।

यो भन्दाअघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्ष पुर्‍याइएको छ ।

मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट सबै सरोकारवाला निकायहरूसँगको छलफल, सुझाव र योजनाका आधारमा बजेट ल्याएको बताउनुभयो । उहाँले अर्थशास्त्रीदेखि निजी क्षेत्रको समेत सुझाव समावेश गरेर बजेट ल्याएको दाबी गर्नुभयो ।

सबैको माग, सुझाव र छलफलको माध्यमबाट बजेट प्रस्तुत भएकाले बजेट सबैको स्वामित्व रहेको मन्त्री शर्माले बताउनुभयो । सांसदहरूले सरकारले चुनाव लक्षित बजेट ल्याएको भने पनि आफूले संयमित भएर बजेट ल्याएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको भन्दा गत वर्षको प्रतिस्थापन बजेट १०.७३ प्रतिशतले मात्रै वृद्धि भएको बताउनुभयो । प्रतिस्थापन विधेयक बजेट भन्दा आगामी आर्थिक वर्षको बजेट ९.८६ प्रतिशतले मात्रै बढी भएको उहाँको भनाइ छ ।

अर्थमन्त्री शर्माले संविधानमा कति समयका लागि बजेट बनाउने भनेर लेखेको नभेटेको बताउनुभयो । बजेट छलफलमा नेकपा एमालेका सांसदहरूले प्रदेश र केन्द्रको निर्वाचनभन्दा अगाडिसम्म मात्रै रहने सरकारले ५ वर्षको लागि भनेर आयोजनामा बजेट ल्याएको भनाइको जवाफ दिँदै उहाँले संविधानमा कति समयको लागि बजेट ल्याउने भनेर लेखेको कतै नभेटिएको बताउनुभयो ।

मन्त्री शर्माले निर्वाचन आफ्नो प्रक्रियामा हुने भन्दै निर्वाचनपछि आउने सरकारले पनि यही बजेट कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले सरकारले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरेकाले यो बजेट पनि पछि आउने सरकारले कार्यान्वयन गर्ने बताउनुभयो ।

अर्थमन्त्री शर्माले आन्तरिक उत्पादनमा बजेटले जोड दिएको दोहो¥याउनुभयो । उहाँले पछिल्लो समय मुलुकले भोगिरहेको आर्थिक संकट आउन नदिनको लागि मुलुकभित्र नै आन्तरिक उत्पादनमा जोड दिने गरि बजेट आएको बताउनुभयो ।

त्यस्तै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा शिक्षामा लगानी बढेको बताउनुभयो । उहाँले विगतको भन्दा थोरै भए पनि शिक्षामा लगानी बढाइएको बताउनुभयो ।

मन्त्री शर्माले सरकारले बजेटमा १२ कक्षा पढिसक्दा सीप सिकेर निस्कने व्यवस्था हुने गरि प्राविधिक शिक्षाको परिकल्पना गरिएको बताउनुभयो । शक्तिलाई सीपयुक्त बनाउने गरी बजेटमा आधारभूत पूर्वाधार बनाएर मेडिकल शिक्षा नेपालमा नै पढाउने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

हजारौं विद्यार्थीहरू मेडिकल शिक्षा अध्ययनका लागि विदेशमा गएकाहरूलाई रोक्न नयाँ योजना बनाइएको मन्त्री शर्माले बताउनुभयो । आईटी शिक्षा र सूचना प्रविधिमा आधारित कुराहरू बजेटमा जोड दिइएको उहाँल बताउनुभयो ।

अर्थमन्त्री शर्माले विद्युतीय चुल्हो वितरणको कार्यक्रम भोटका लागि घोषणा नगरिएको बताउनुभयो । विद्युतीय चुल्हो वितरणमा भेदभाव नहुने भन्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई पनि सो कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । सरकारले विद्युतीय सवारी साधनको कर कुनै स्वार्थका लागि नबढाएको जिकीर गर्नुभयो ।

मन्त्री शर्माले मुलुकको आवश्यकतालाई हेरेर विद्युतीय निजी सवारी साधनमा कर वृद्धि गर्नु परेको बताउनुभयो ।