काठमाडौं । पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
बिहीबार पूर्वराजा शाहको २१औं पुण्यतिथिको अवसरमा ललितपुरको जावलाखेलस्थित उहाँको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा पूर्वराजा शाहको शालिकमा माल्यार्पण तथा दिपप्रज्वलन गरिएको थियो ।
श्रद्धाञ्जली दिन पुगेकाहरूले उहाँलाई राष्ट्रिय एकताको प्रतिक र विकासप्रेमी राजाको रूपमा स्मरण गरेका थिए । पूर्वमन्त्री दुर्गा श्रेष्ठले पूर्वराजा शाह राष्ट्रको एकताको प्रतिक रहेको उल्लेख गर्नुभयो ।
श्रेष्ठले विकासप्रेमी, जनतालाई सुशासन दिने राजाको रुपमा स्मरण गर्नुभयो । पूर्वराजा शाहले देशलाई शान्ति क्षेत्र कायम गर्न अथक प्रयास गर्नुभएको उहाँले बताउनुभयो ।
योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्का उपाध्यक्ष विमलराज शर्माले पूर्वराजा वीरेन्द्र शाह राष्ट्रवादी राजा भएको बताउनुभयो । उहाँले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न ११६ राष्ट्रको समर्थन गराएको भन्दै पूर्वराजा शाहको प्रशंशा गर्नुभयो ।
वि.सं. २००२ साल पुष १४ गते जन्मिनुभएका पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको २०५८ साल जेठ १९ गते सपरिवार निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्