२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मदिरा तस्करीमा बालबालिकाको प्रयोग


182
Shares

राजविराज । धनुषाको सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ दैनिक रूपमा मदिरा तस्करीमा विद्यालय उमेर समूहका बालबालिकालाई प्रयोग गर्ने गरेको खुल्न आएको छ । गत शुक्रबार साइकलमा मदिराको पोका पोकी लोड गरेर भारततर्फ गइरहेको अवस्थामा बालबालिका भेटिएपछि सो कुरा बाहिरिएको हो । भारतको विहार राज्यमा मदिरा बिक्रीवितरण र प्रयोगमा रोक लगाइएपछि त्याहाँका कतिपय मदिराप्रेमीले नेपालतर्फका सीमावर्ती जिल्लालाई नै आफ्नो गन्तव्य बनाएका छन् भने केहीले यहाँका व्यापारीसँगको ‘कनेक्सन’ मा मदिरा घरसम्म नै मगाउने गर्छन् ।

‘बोरामा हालेर साइकलमा लोड गरेपछि हामीलाई पुर्याइदेऊ भन्छन्’, इनर्वा नाका हुँदै जयनगरतर्फ गइरहेका १३ वर्षीय बालकले भने– ‘नाम र घर बताउन भनेको छैन र बताउँदिनँ पनि, बोरामा समान छ रे, सुरक्षित पुर्याएपछि मात्रै पैसा दिनुहुन्छ।’उनले दैनिक एकपटक र कहिलेकाहीँ दुई पटकसम्म पनि मदिरा जयनगरसम्म पुर्याउँदै आएको बताए ।

‘मेरो दोस्त र बहिनी पनि मसँग सामान लिएर आउँछन् र अन्य १५–१७ जना पनि हाम्रै उमेरका छन्, उनीहरूको पालो भोलि हो’, उनले भने– ‘मलाई ५ सय रुपियाँ दिनुहुन्छ र दोस्त र बहिनीलाई ४–४ सय रुपियाँ दिनुहुन्छ ।’ अरूले धेरै समयदेखि काम गर्दै आए पनि आफू एक महिनादेखि सो काममा लागेको उनको भनाइ थियो । ‘अहिलेसम्म ३–४ पटक पुलिससँग भेट भएको छ र पुलिसले छिटोछिटो जाउँ भन्नुभाछ’ –उनको भनाइ थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।