काठमाडौं ।
पछिल्लो समय बढिरहेका आत्मदाहका घटनाले समाजमा तरंग पैदा गरेको छ ।
राज्य र विभिन्न निकायसँगको असन्तुष्टी तथा पारिवारिक कारण बढ्दै गएका आत्मदाहका घटनाले सिंगो राज्य संयन्त्रमाथि पनि गम्भीर प्रश्न उठाएको छ । नागरिक समस्या समाधानमा राज्यको प्रभावकारी भूमिका नदेखिँदा निराशा र असन्तुष्टि चरम रूपमा प्रकट हुन थालेको भन्दै यी घटनाले राज्यको जिम्मेवारी र जवाफदेहितामाथि चुनौती थपेको छ ।
मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको निधनले यतिबेला देशभर गम्भीर बहस सिर्जना गरेको छ । नियम कार्यान्वयनका क्रममा राज्यका निकायको व्यवहार र नागरिकप्रतिको जिम्मेवारीमाथि प्रश्न उठिरहेका बेला पछिल्ला केही दिनमै थप आत्मदाहका प्रयास भएका छन् ।
यसले समाज र राज्य दुबैमाथि गम्भीर चुनौती थपेको छ । मुगुका गणेश नेपालीले काठमाडौं महानगर प्रहरीले आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएपछि आत्मदाहको प्रयास गरेका थिए । उपचारका क्रममा उनको निधन भयो । घटनाअघि सार्वजनिक भएको भिडियोमा नेपाली र नगर प्रहरीबीच भनाभन भएको देखिन्छ ।
यो घटनापछि नियम कार्यान्वयनका नाममा राज्यका निकायले नागरिकसँग गर्ने व्यवहारमाथि व्यापक प्रश्न उठेको छ । विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् भने राज्य संयन्त्रलाई थप जिम्मेवार र संवेदनशील बन्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।









प्रतिक्रिया दिनुहोस्