
काठमाडौं । सरकारले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक)का लागि आर्थिक वर्ष २०७९/८० मा ३० अर्ब ७ करोड बजेट विनियोजन गरेको छ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि आइतबार सार्वजनिक गरेको बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले फास्ट–ट्र्याकका लागि ३० अर्ब ७ करोड रकम बजेट छुट्याएको बताएका हुन् । सो द्रुतमार्गको निर्माणको व्यवस्थापनको काम नेपाली सेनाले गर्दै आइरहेको छ । सेनाले भने गत फागुनमा आयोजित पत्रकारसम्मेलनमार्फत द्रुतमार्गको निर्माणमा २०८१ सम्म हरेक वर्ष ४० अर्बभन्दा बढी रकम आवश्यक पर्ने बताएको थियो ।
निर्माण कार्यले गति लिएका कारण र धेरै प्याकेजहरूको ठेक्का लागिसकेकाले कारण सेनाले निर्माणको कामलाई द्रुत बनाउन बजेट पनि बढाइनुपर्ने बताउँदै आएको थियो । त्यसबखत सेनाले सो आयोजनाका लागि कुल २५ अर्ब ४० करोड रुपैयाँ बजेट खर्च भइसकेको जनाएको थियो । आर्थिक वर्ष २०७८/७९ मा भने सरकारले सो आयोजनाका लागि ८ अर्ब ९२ करोड बजेट विनियोजन गरेको थियो ।
त्यसमध्ये करिब ३ अर्ब रुपैयाँ खर्च भएको सेनाले जनाएको छ ।सेनाले आर्थिक वर्ष २०७९/८० का लागि ४८ अर्ब ८४ करोड, २०८०/८१ का लागि ४३ अर्ब ४३ करोड र २०८१/८२ का लागि ३९ अर्ब २ करोड रुपैयाँ बजेट आवश्यक पर्ने भनेको थियो । निर्माण कार्य सुरु भएदेखि हालसम्म फास्ट ट्र्याकको भौतिक प्रगति १९ प्रतिशत भएको सेनाले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ बाट सुरु भएको सो आयोजनाको कुल अनुमानित लागत १ खर्ब ७५ अर्ब छ । २०८१ पुससम्म सो आयोजनाको काम सक्ने लक्ष्य सेनाको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्