ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा चीनले पठायो ३० लडाकु विमान « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा चीनले पठायो ३० लडाकु विमान


2.561k
Shares

एजेन्सी । चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा ३० वटा लडाकु विमान पठाएपछि त्यसलाई चेतावनी दिन ताइवानले समेत लडाकु विमानहरु पठाएको जनाएको छ ।

सोमबारको उक्त घटना ज्यानुअरी यताको सबैभन्दा ठूलो अतिक्रमण हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले चीनलाई ताइवानमाथि अतिक्रमण नगर्न चेतावनी दिएको केही दिनपछि र एक अमेरिकी अधिकारी उक्त टापुमा त्यहाँका नेताहरूसँग सुरक्षाका विषय छलफल गर्न पुगेकै दिन यस्तो भएको हो ।

चीनले आफ्ना हवाई मिशनहरूलाई पछिल्ला महिनामा बढाएको छ जसलाई उसले सैन्य अभ्यास भन्दै आएको छ । ती कदमले ताइवानलाई क्रुद्ध पार्नुका साथै उक्त क्षेत्रमा तनाव बढाएको छ ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएर गएको एउटा प्रान्त ठान्छ र आवश्यक परेको बेला बलपूर्वक त्यसलाई लिन सक्ने बताउँ छ । पछिल्लो घटनामा २२ वटा लडाकु विमानका साथै विद्युतीय युद्ध, पूर्व चेतावनी दिन र पनडुब्बीमा प्रहार गर्न सक्ने विमान प्रयोग भएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

सो मन्त्रालयले उपलब्ध गराएको नक्सा अनुसार विमान प्रतास टापुको उत्तरपूर्वी क्षेत्रमा उडेको थियो जुन ताइवानको हवाइ प्रतिरक्षा क्षेत्र हो । ताइवानले एक वर्षभन्दा अघिदेखि चिनियाँ विमानहरू हवाइ प्रतिरक्षा क्षेत्रमा उडिरहेको जनाएको छ ।

त्यसलाई ताइवानले ग्रे जोन युद्ध बताउँदै आफ्नो सैन्य जवाफ जाँच्न खोजेको जनाएको छ ।