
काठमाडौं । बिमान दुर्घटनाको अघिल्लो दिन आफनो मामा र माइजुको यही असार ४ मा हुने चौरासीका लागि परिवारजनसँग छलफल गर्न मखन टोलस्थित मामाघर पुगी आफनो जन्मघर टेबहाल पुगेका प्रभाकर घिमिरेले सोही दिन साथीभाईसँग भेटघाट गरी अन्तिम पटक चिया खाएको स्मरण गर्छन् उनका बाल्यकाल देखिको साथी नविन बज्राचार्य ।
फ्लाइटमा जानु अघि र पछि जहिले भेट गर्न भ्याए भेट गर्ने, नभए फोन गर्ने प्रभाकरले आइतबार जोमसोम जाने जानकारी नविनलाई गराएका थिए शनिबारकै भेटमा ।
नविनले मौसम खराबको संकेत गर्दा प्रभाकरले आफु अनुभवी भएको र मौसमबारे आफु जानकार भएको भन्दै नविनलाई तिम्रो साथी हतपत मर्दैन भन्दै आश्वस्त पारेका थिए । जोमसोमको फ्लाइट सकेर फेरी नविनलाई भेट्ने बाचा गरेका प्रभाकर नफर्कने गरी गएकोमा नविनको मन टुटेको छ । उनी भन्छन्, ‘मेरो त अब कुनै साथी नै छैन् ।’

एकदिन भेटघाटकै क्रममा प्रभाकरले उनलाई आफनो भिजिटिङ कार्ड मागेको र यसको जिज्ञासामा प्रभाकरले कुनै दिन दुर्घटनामा परे भने कन्ट्याक्ट गर्न जोकोहीलाई तिम्रो नम्बर काम लाग्नेछ भनि भिजिटिङ कार्ड लिन जिद्दी गरेको र अन्तमा भिजिटिङ कार्ड दिएको नविन स्मरण गर्छन र भन्छन्, ‘उनको पर्समा मेरो भिजिटिङ कार्ड अझै होला ।’
फ्लाइटको समय अघि भ्याएसम्म संकटा र अन्य शक्तिपीठहरुको दर्शन गर्ने नभ्याए सबै शक्तिपीठहरुको नाम स्मरण गरी मात्रै उडान भर्ने गरेको प्रभाकरले त्यो दिन पनि त भगवानको स्मरण त गरे होलान् तर खोइ त भगवान भनि नविन प्रतिप्रश्न गर्छन् ।
ए डिभिजन लिग संकटा क्लवबाट फुटबल खेल्ने गरेका प्रभाकरको विद्यालय जीवन पद्मोदय हाइस्कुलमा बितेको हो भने पब्लिक युथ क्याम्पसबाट उनले स्नातक तह हासिल गरेका थिए ।
एयर ट्राफिक कन्ट्रोलरको रुपमा काम गरेका प्रभाकरले पाइलटिङ कोर्ष भने क्यानाडाबाट गरेका हुन् । उनको बिबाह संगीता तुलाधरसंग भएको हो । अन्तरबिबाहका कारण ससुरालीबाट बहिष्कार गरिएका प्रभाकरका चार दाजुभाइ छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सरस्वती प्रसाद घिमिरेका चार छोरा मध्ये प्रभाकर कान्छा छोरा हुन् । उनको तीन दाजुहरु हुन् प्रकाश, किरण, र ज्योती । अनि दुई दिदीहरु शोभा र सविता । प्रभाकरका दुई छोरी छन्, सुभुती र बिभुती ।
सुरुमा सीता एयरबाट उडान भर्न सुरु गरेका प्रभाकर पछिल्लो समय तारा एयरमा आवद्ध हुँदा बिमान चालक मात्र नभई इनस्ट्रक्टर समेत रहेका थिए ।
परिवारजनले अब बिमान उडाउन छोड्नु पर्यो भनिरहंदा प्रभाकरको जवाफ रहने गरेको थियो कि ‘आफुले काम छोड्यो भने नेपालमा अन्य पाइलटको उत्पादन कसरी होला ?’
जन्मघर टेबहाल भएतापनि हाल ट्यांग्लाफाँटको नयाँ घरमा बस्दै आएका प्रभाकरको घरमा सबै दिदीबहिनी र दाजुभाई भेला भएका छन् बिमान दुर्घटनाको समाचार आएपछि ।
टाउकोमा हात राखी बसेको उनका साँइला दाई ज्योतीले आफनो भाई जो बिमान चालकको रुपमा बर्षौदेखि आवद्ध रहँदा अब पुग्यो भनि पटक पटक सम्झाएको तर नमान्दा यो दिन हेर्नु पर्यो भनि गँहभरी आँसु राख्छन् ।

आफनो घरजम भएपनि भाइले हरेक दाइलाई सहयोग गर्ने गरेको र जीवनमा हरेस नखान सम्झाउने गरेको र संधै सकारात्मक सोच राख्न भाइले सल्लाह दिने गरेको बाक्यहरु ज्योतीको मानसपटलमा अहिले पनि ताजै छ र ज्योती भन्छन्, ‘आफू भन्दा कान्छो भएपनि टुहुरो महसुस भयो ।’

थुप्रै पटक क्याप्टेन प्रभाकरको यात्रु भएर नेपालका दुर्गम र पहाडी भेगमा उडान गरे । आकासमा आपत पर्दा आफ्ना प्रशिक्षित पाइलटहरुलाई तत्काल लिनुपर्ने निर्णयको सूत्र बाँडे । उनकै कमाण्डमा रहेको विमान खै के चुकले पहाडमा ठोक्किएर २२ जनाको इहलीला सकियो । प्रतिवेदन त आउला तर सधैं संकटाको दर्शन गरेर घरबाट उडानमा निस्कने प्रभाकर अब फर्किने छैनन् । उनका दाजुभाइ र साथीसंगीसंग उनको स्मरण मात्र बाँकी छ ।

नेपाली आकाशको पारंगत पंक्षीजस्तै थिए प्रभाकर । अढाई दशक आकाशे यात्रामा बिताएका प्रभाकर अरु बेला यस्ता दुर्घटना हुँदा विज्ञका रुपमा छानविन समितिको सदस्य भएर काम गर्थे । धेरैजसो छानविन समितिको निष्कर्ष हुन्थ्यो, ९५ प्रतिशत दुर्घटना मानवीय त्रुटिले हुने गर्छ । थाहा छैन, अक्करे भीरमा बज्रिएको बिमान दुर्घटनाको कारण के थियो ?
प्रतिक्रिया दिनुहोस्