१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024


न्यायालयको अवस्था सुधारोन्मुख : कामु प्रधानन्यायाधीश कार्की


195
Shares

काठमाडाैं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ ।

आज (आइतबार) नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले न्यायालयको अवस्थाबाट पहिले भन्दा सुधार भएको बताउनुभएकाे छ । उहाँले आफूले सर्वोच्च अदालतको नेतृत्व लिएपछि मुद्दाको फर्छ्यौट बढेको बताउनुभयो । उहाँले आफु नेतृत्वमा आउदा मुद्दाको फर्छ्यौट प्रतिशत ८ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको बताउनुभयो ।

उल्लेख्य मात्रामा पुराना मुद्दाहरुको फैसला भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयाे, विभिन्न अवरोधहरू, विभिन्न प्रवृत्तिहरू, विकृतिहरू, विसंगतिहरू बेहोर्याैं र भोग्यौँ । त्यो सुधार गर्नको निमित्त कानून व्यवसायीको क्षेत्रबाट, न्यायाधीशको क्षेत्रबाट हामीले भोगेर यसलाई सुधार गर्नुपर्छ भनेर प्रतिवद्धताको साथ अहिले हामी आएका छौँ । म प्रतिवद्धता व्यक्त गर्न चाहान्छु, न्यायपालिकालाई अब हामीले यो भन्दा पहिलेको स्थिति भन्दा फरक ढंगबाट हेर्नुपर्छ । यसलाई समृद्ध रुपमा अगाडी बढाउनुपर्छ भन्ने कुरामा म फेरीपनि त्यो कुरा राख्न चाहान्छु ।

मैले आफुले नेतृत्व लिदाँखेरी हाम्रो सर्वोच्च अदालतको मुद्दाको फस्र्योट प्रतिशत ८ प्रतिशत थियो । ८ प्रतिशतबाट मैले विभिन्न ढंगबाट त्यसलाई फोकस गरेर अहिले प्रत्येक महिनाजसो २ प्रतिशतको दरले बढाएर अहिले हिजोसम्मको स्थितिमा १५ प्रतिशत मुद्दा फैसला भएको छ । त्यसमा उल्लेखनीय रुपमा पुराना मुद्दाहरु फैसला भएका छन् । विशेष गरेर उच्च अदालत र जिल्ला अदालत भन्दापनि सर्वोच्च अदालतप्रति धेरै गुनासोहरु छन् । धेरै मुद्दाहरु फर्छयाैट हुन सकेनन् । पुराना मुद्दाहरु धेरै रहे भनेर त्यसमा सुधार गर्न खोजिरहेका छौँ ।’ उहाँले तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान नसकिने बताउनुभयो ।

उहाँले अटोमेशनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेशनमा जानुअघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘गोलाको विकल्प तत्काल हामी जानसक्ने अवस्था पनि छैन् । हरिकृष्ण कार्कीको प्रतिवेदनले पनि अटोमेशनमा जाने हो र अटोमेशनमा नजाँदासम्म, अटोमेशनको कार्यान्वयन नहुँदासम्म हामी गोला प्रक्रियाबाट नै मुद्दा हेर्ने भएको हुनाले अहिले हामी अरु कुरामा विचार गर्न सक्ने पक्षमा छैनौँ र अटोमेशनमा जानका लागि प्रक्रिया सुरु भइसकेको छ । बजेटको पार्टमा फुल कोर्टले पनि पास गरिसकेर अर्थ मन्त्रालयमा बजेटको माग गरिसकेकाे उहाँले बताउनुभएकाे छ । अटोमेशन कार्यान्वयन हुन्छ भन्ने लागेकाे उहाँले बताउनुभएकाे छ ।

कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले अटोमेशनमा जानका लागि अर्थमन्त्रालयसँग बजेट माग गरिसकिएकाले अटोमेशनको प्रक्रिया छिट्टै कार्यान्वयन हुने विश्वास समेत व्यक्त गर्नुभयो ।