बालेनलाई भेट्न तेह्रथुमबाट ऋण खोजेर काठमाडौं « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


बालेनलाई भेट्न तेह्रथुमबाट ऋण खोजेर काठमाडौं


10.335k
Shares

काठमाडौं । र्‍यापरबाट राजनीतिमा फड्को मारेका काठमाडौं महानगरका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले र्‍यापमार्फत जनताको मायाप्रति कृतज्ञता अर्पण गर्नुभयो ।

काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाउने अभियानमा सघाउन उहाँले मतदातालाई आग्रह गर्नुभयो । नगरबासीप्रति आभार प्रकट गर्न गरिएको र्‍यालीमा स्वतस्फूर्त बालबालिका, युवा, बृद्धबृद्धा सबै पुस्ताको भीड चाखलाग्दो थियो ।

घर–घरका झ्यालबाट उहाँलाई मतदाताले अपार माया प्रकट गरेका थिए । आफ्नै खर्चमा बालेन भेट्न तेर्‍हथुमबाट आएका ज्येष्ठ नागरिकलाई काठमाडौंमा उहाँको जितले एकदमै खुसी लागेको बताउँछन् ।

‘बालेन स्वतन्त्रमा उठ्नुभाकाे थाहा पाएर तेह्रथुमबाट दुःख/सुःख तीन हजार रुपैयाँ खर्च खोजेर तेह्रथुमबाट आएको हुँ,’ उनले भने, ‘असाध्यै चर्चा भएको सुनेपछि म जतिसुकै बुढो भएपनि आउन मन लाग्यो, नजिकबाट भेट्न नपाए पनि असाध्यै खुसी लाग्यो ।’

उहाँले महंगीले गरिखानै नसकिने अवस्था भएको भन्दै आफूहरूजस्तो गरिब सबैभन्दा बढी मारमा परेको बताउनुभयो ।

बालेनकै खातिर पोखराबाट काठमाडौं आएका अर्का युवा उहाँको नेतृत्वसँगै आफूले अर्को पल्ट मुलुकको राजधानी टेक्दा फोहोरको डुंगुर देख्न नपर्ने विश्वास व्यक्त गर्छन् । कतिलाई चाहीँ उहाँको राष्ट्रिय झण्डालाई गरेको प्रेम मन परेको रहेछ ।

स्कुल कलेजको पढाइ छोडेर बालेनको विजय जुलुसमा थुप्रै किशोरकिशोरी सहभागी थिए । आफ्नो एजेण्डालाई युवा नेतृत्वले बुझ्ने विश्वास लिएका उनीहरू देशव्यापी यस्तै नेतृत्व जिताउन सके परिवर्तन आउने विश्वास व्यक्त गर्छन् ।

जनताको आशा र भरोसा नयाँपुस्तामाथिको विश्वास हो । यदि जनप्रतिनिधि इमानदार भएनन् भने त्यो विश्वास घृणामा परिवर्तन हुन कति समय पनि लाग्दैन ।

दशकौंदेखि झाँगिएको दलीय सिण्डिकेट तोडेर आएको स्वतन्त्र व्यक्तिको रोजाई अवसरसँगै चुनौतीको पहाड हो । बालेनहरूले यो सत्य बुझ्न आवश्यक छ ।