काभ्रेमा करिब ९ प्रतिशत बालबालिकामा कुपोषण « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


काभ्रेमा करिब ९ प्रतिशत बालबालिकामा कुपोषण


611
Shares

काभ्रे । काभ्रे जिल्लामा करिब २ हजार बालबालिकामा पोषणको अवस्था जाँच गर्दा करिब ९ प्रतिशमा कुपोषण देखिएको छ ।

एक महिनाको अवधिमा १ हजार ९९३ जना बालबालिकाको पोषणको अवस्था जाँच गर्दा १ सय ७३ जना कुपोषित भेटिएका हुन् । जसमध्ये १४ जना अर्थात शुन्य दशमलव ७ प्रतिशतमा कडा खालको कुपोषण देखा परेको छ भने १ सय ५९ जना अर्थात ७ दशमलव ९५ प्रतिशत बालबालिकामा मध्यम खालको कुपोषण देखिएको छ ।

काभ्रेमा नमुना परियोजनाको रुपमा १३ वटै पालिकाका ६ महिनादेखी ५९ महिनासम्मका बालबालिकामा पोषण जाँच थालिएको छ ।

३६ हजार ३१९ बालबालिकाको सवास्थ्य जाँच गर्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तम सेढाइले बताउनुभयो । उहाँका अनुसार सरल प्रविधिबाट बच्चाको पाखुरामा टेपको माध्यमबाट जाँचेर कुपोषण भए÷नभएको पत्ता लगाइन्छ ।

यस्तै, कुपोषित बच्चको कामालाई तथा परिवारको सदस्यलाई समेत यसबारे तालिम दिइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले नगरपालिकासँगको समन्यमा निशुल्क पोषणयुक्त खाद्यान्न उपलब्ध गराउँदै आएको धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सन्दिप केसीले जानकारी दिनुभयो । सरल विधि, कम खर्चिलो हुनुका साथै यसले स्वास्थ्य शिक्षा समेत प्रदान गर्ने भएकाले यो कार्यक्रम प्रभावकारी समेत देखिएको छ ।

कमजोर आर्थिक अवस्था, अस्वस्थ आमा, परिवार संख्या, बेरोजगारी, कामको प्रकृति लगायतले पोषणको अवस्थामा परिवर्तन ल्याउने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर सेढाइले बताउनुभएको छ । समयमै कुपोषित बालबालिका पहिचान हुँदा अन्य रोगको संक्रमण कम हुने उहाँले बताउनुभयो ।