पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न प्रस्ताव गर्ने धनराज आचार्यको घोषणा « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न प्रस्ताव गर्ने धनराज आचार्यको घोषणा


260
Shares

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गर्नुभएको छ ।

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बन्नुभएका आचार्यले ५ हजार मत गणना बाँकी छँदै मेयरमा विजयी बन्नुभएको हो । यद्यपी पूर्ण मत गणना नभइसकेकोले घोषणा हुन भने बाँकी छ ।

मेयरमा उहाँको प्रतिष्पर्धी रहनुभएका नेकपा एमालेका उम्मेदवार कृष्ण थापा ५ हजार २८६ मतान्तरले पछि हुनुहुन्छ । अब ५ हजार १५ मत गणना बाँकी छ ।

पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो भने मंगलवार बिहान ८ बजेसम्म १ लाख ३८ हजार २११ मत गणना भइसकेको छ । जसकारण पनि सहजै उम्मेदवार आचार्यको पक्षमा नतिजा गइसकेको अनुमान लगाउन सकिन्छ ।

उहाँले शपथग्रहणपछिको पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेशन गर्नुपर्ने कुराहरूलाई ६ महिनाको समयावधिभित्र निःशुल्क बनाउने निर्णय गर्ने घोषणा गर्नुभयो । उहाँले शपथग्रहणको दिन पहिलो निर्णयका रूपमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने पनि जानकारी दिनुभयो ।

आचार्यले महानगरपालिकाका हरेक निर्णय पोखराबासीको जीवनस्तरलाई सरल बनाउने किसिमका हुने दाबी गर्नुभयो । उहाँले चुनावी प्रतिष्पर्धामा विभिन्न पार्टीबाट आए पनि निर्वाचित भएपछि सबै एउटै टिमको भएकोले अब पोखराको अविभावक भएर काम गर्ने र सबै निर्णयहरू भरसक सर्वसम्मत गर्ने पनि स्पष्ट पार्नुभयो ।

आचार्यले कसैको स्वार्थविना महानगरवासीको लागि निर्णय गर्ने भएकोले महानगरका निर्णय सर्वसम्मत हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले महानगर विकास गर्नका लागि पोखरावासीलाई पहिलो प्राथमिकतामा राखेर रोजगारी दिने र उनीहरूबाट नै विभिन्न विकासका उपाय र योजनाहरू ल्याइने बताउनुभयो ।

मेयरका उम्मेदवार आचार्यले ५ वर्षमा पोखरा व्यवस्थित शहर हुने दाबी गर्नुभयो । उहाँले ५ वर्षे कार्यकालमा पोखरालाई सिस्टमबाट चल्ने, सफा र आधुनिक शहर बनाउने बताउनुभयो । पोखराको मेन बसपार्क हामीले लामे आलमा बनाउने, जसमा छुट्टै अटो पार्क बनाउने योजना रहेको बताउनुभयो ।

आचार्यले अहिले पृथ्वी चोकमा रहेको बसपार्कलाई पोखराको सिटी बसपार्कका रूपमा परिणत गर्ने पनि जानकारी दिनुभयो । पोखरा महानगरभित्रका सबै वडामा साँझ ६ बजेसम्म गाडी चल्ने, आयात प्रतिस्थापन गर्ने उपाय अपनाउने, पोखरेली हरुको जीवनस्तरलाई योजना अघि सार्ने, भान्सालाई सस्तो, सुलभ, सफा र हाइजेनिक बनाउने काम आगामी ६ महिनामा नतिजा निस्किने कार्ययोजना अघि बढाउने उहाँले बताउनुभयो ।

उम्मेदवार आचार्यले शपथपछिको पहिलो बैठकबाट नै फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले पोखरामा फोहोर व्यवस्थापन गर्न नसके अन्तर्राष्ट्रिय विमानस्थल नै सञ्चालन हुन नसक्ने स्थितिमा रहेको भन्दै अब फोहोरलाई फरक ढंगले व्यवस्थापन गर्ने दाबी गर्नुभयो ।

पोखरामा विगत लामो समय यता फोहोर व्यवस्थापनको ठूलो चुनौति देखा पर्दै आएको छ । उहाँले पोखरामा फोहोर व्यवस्थापनको लागि निर्वाचित हुनु पहिला नै अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई भेटेर आगामी बजेटमा प्राथमिकता राख्न अनुरोध गरेको पनि बताउनुभयो ।

पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार आचार्यले १ लाख ३८ हजार २११ मत गणना गर्दा ५६ हजार ४७१ र उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका थापाले ५१ हजार १८५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले हालसम्म ५८ हजार ५८१ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा गठबनधबाट नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५४ हजार ५४७ मत पाउनुभएको छ । पोखरा महानगरपालिकामा अब मात्र ५ हजार १५ मत गणना गर्न बाँकी रहेको छ ।