Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


कैदीबन्दीले दैनिक रासन–भत्ता जोगाएर विपन्न परिवालाई गरे सहयोग


13
Shares

कञ्चनपुर, वैशाख २ । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीले आफूहरुले पाउने दैनिक रासन–भत्ता बचाएर अतिविपन्न परिवारलाई सहयोग गरेका छन् ।

कैदीबन्दीले ‘लकडाउन’का कारण भोकमरीको समस्यामा परेका अतिविपन्न परिवारका लागि आठ क्विन्टल चामल र एक बोरा नुन सहयोग गरेका हुन् ।

उनीहरुले दैनिकरुपमा पाउने ७०० ग्राम चामल र ६० रुपैयाँ भत्ताबाट अतिविपन्न परिवारका लागि आठ क्विन्टल चामल र एक बोरा नुन खरिद गरी मंगलबार प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडालाई हस्तान्तरण गरेका छन् ।

महामारीका बेला कारागारभित्रबाट पनि सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यले ३१६ जना कैदीबन्दीले दैनिकरुपमा प्राप्त गर्ने रासन–भत्तामध्ये केही रकमले अतिविपन्न परिवारका लागि चामल सहयोग गरेको कारागार कार्यालय कञ्चनपुरका मुख्य चौकीदार टेकराज जोशीले बताए ।

यता, कैदीबन्दीले गरेको सहयोग बुझ्दै प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जेलभित्रबाट देखाइएको सहयोगको प्रशंसा गरे ।

उनले दाताले दिएको सहयोगको दुरुपयोग हुन नदिन आफू सचेत रहेको बताउँदै अतिविपन्न परिवार भोकै बस्नुपर्ने अवस्था आएमा त्यस्ता परिवारलाई सहयोगसमेत गरिने उनले आश्वासन दिए ।

७५ पुरुष र २० महिला गरी ९५ जना कैदीबन्दीको क्षमता भएको कारागार कार्यालय कञ्चनपुरमा हाल १८ जना महिला र २९८ जना पुरुष गरी ३१६ जना कैदीबन्दी रहेका छन् ।