२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024


रामग्राम नगरका मेयरको पहिलो निर्णय- ‘बाढी नियन्त्रण’


182
Shares

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका नवनिर्वाचित मेयर धनपद यादवले बाढी नियन्त्रणलाई प्राथमिकता दिएर पहिलो निर्णय गर्नुभएको छ ।

पदभार समाल्न मेयर यादवसँगै उपमेयर सम्झना चौधरी पञ्चकन्याका साथ शुभ साइत निकालेर नगरपालिका पुग्नुभएको थियो ।

पदभार समाल्दै मेयर यादवले गतवर्ष आएको बाढीले रामग्राम नगर क्षेत्र प्रभावित बनेकोले बाढी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

गतवर्ष भदौमा आएको बाढीका कारण नगर क्षेत्रमा २ जनाले ज्यान गुमाएका थिए । करोडौंको धनमाल बगेर नष्ट भएको थियो ।

झरही खोलाका कारण आएको बाढीले क्षति पुर्‍याएको भन्दै तटबन्धन कार्यलाई तीव्रता दिई बाढी पस्ने सम्भाव्य स्थानको खोजी गरी सरसफाई र व्यवस्थापनमा लाग्ने यादवको भनाई छ ।

नगरपालिकाका अघिल्ला निर्णय र आगामी कार्यक्रमसँगै स्वास्थ्य, शिक्षा र रोजगारीलाई सँग–सँगै लगेर काम गर्ने योजना यादवले सुनाउनुभयो ।

पदभार समाल्दै उपमेयर चौधरीले जनताको चाहाना अनुसार काम गर्ने बताउनुभयो ।

सामान्य झगडा र अन्य विवादका घटनाहरू प्रहरी र अदालतमा जाने प्रवृत्तिलाई अन्त्य गरी न्यायिक समितिद्वारा जनतालाई न्याय दिलाउन आफू अग्रसर हुने उहाँको भनाइ छ ।

नगरको मेयरमा एमाले र उपमेयरमा राप्रपाका उमेदवार विजयी भएका हुन् ।