१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


धनगढीमा सञ्चालित योजनाको निरन्तरता नै नवनिर्वाचित मेयर हमालको पहिलो प्राथमिकता


273
Shares

धनगढी । सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । ५ दलीय गठबन्धनका उम्मेदवार कांग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमालले जित हात पार्नुभएको हो । उपमेयरमा गठबन्धनबाट प्रत्यासी माओवादी केन्द्रकी शान्ती अधिकारीलाई पराजित गर्दै एमालेकी कन्दकला राना विजयी हुनुभएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नृप बहादुर वड २ हजार ७ सय बढी मत ल्याएर विजयी हुनुभएको थियो । त्यति बेलाका प्रतिद्धन्द्धी गोपाल हमाल यस पटक निकै लोकप्रिय मतले विजयी हुनुभएको छ । हमालले वडलाई १२ हजार बढी मतले पराजित गर्नुभएको हो । हमालले २६ हजार ८६५ मत पाउँदा वड १४ हजार ८१७ मत मा सीमित हुनुभयो ।

यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाउनुभएको छ । कांग्रेसको गढ मानिने धनगढी त्यसैमा गठबन्धन हुँदा समेत स्वतन्त्र उमेदवारले बाजी मारेका छन् । नव निर्वाचित मेयर हमालले धनगढीमा सञ्चालित योजनाको निरन्तरता र सचिवालय सुदृढिकरण पहिलो प्रार्थमिकतामा राखेका छन् ।

यस्तै, उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी हुनुभयो । उहाँले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गर्नुभएको हो । रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाउनुभयो । सत्ता गठबन्धनलाई पराजित गर्दे एमालेबाट उपमेयरमा निर्वाचित रानाले पनि सबैको सहकार्यमा धनगढीको बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा कांग्रेस, ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ । ०७४ सालको निर्वाचनमा कांग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो । माओवादी केन्द्र ५ वडामा विजयी हुँदा एमाले भने २ वडामा मात्रै विजयी भएको थियो । यसपटक एमालेले भने धनगढीमा अवस्था सुधार गरेको छ ।