नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
काठमाडौं, चैत २९ । कोरोनाभाइरसको संक्रमणबाट बच्न ‘लकडाउन’ गरेपछि विश्वका विभिन्न सहरमा वन्यजन्तु र पशुपक्षी सहरका सडकमा देखापर्न थालेका छन् ।
काठमाडौंको टुँडिखेलमा पनि चिलका बथान देखापर्न थालेका छन् ।
लकडाउनका कारण मानिसको आवत–जावत नभएपछि चिलहरु टुँडिखेलमा निस्फिक्री घाम तापेर बस्न थालेका हुन् ।
काठमाडौंको जमिनमा वर्षाैंपछि चिलहरु बसेको देख्न थालिएको छ । लकडाउनका कारण मानिसहरु घरभित्र बस्न बाध्य भएपछि चिलहरु मध्य सहरको खुला स्थानमा विचरण गर्ने मौका पाएका हुन् ।
कुनै समय एसियाकै ठूलो मैदानको रुपमा रहेको टुँडिखेल दिन–प्रतिदिन मानिसको अतिक्रमणमा पर्दै गएको छ ।
तर, झन्डै २० दिनदेखि शान्त रहेको टुँडिखेलमा अहिले आकाशमा उड्ने पक्षीले पनि विश्राम गर्ने, घाम ताप्ने र क्रिडा गर्ने गरेको देखिन्छ ।
यहाँ खटिने सुरक्षाकर्मीकाअनुसार यस्तो दृष्य पहिलोपटक देखिएको हो ।
चिलहरु दिनभरि घाम ताप्ने, खेल्ने, सिकार गर्ने गर्दछन् र घाम अस्ताउन लागेपछि बासस्थानतिर लाग्ने गर्दछन् ।
६० वर्षीय रमेश महर्जन चिल दशकौंपछि जमिनमा देख्न पाएकोमा खुसी देखिन्छन् ।
विकास प्रकृतिमैत्री हुनुपर्ने भन्दै उनले प्रकृतिको विनास के कारणले भएको भन्ने अहिले प्रमाणित भएको बताए ।
वातावरण विभागलेसमेत लकडाउनको समयमा काठमाडौंलगायत नेपालभरि नै प्रदूषण कम भएको जनाएको छ ।
टुँडिखेललगायतका खुला ठाउँको संरक्षण हुनपर्ने महर्जनको भनाइ छ ।
खुला ठाउँ मानिसको लागिमात्र होइन, सबैको लागि महत्वपूर्ण भएको उनको ठम्याइ छ ।
कोरोनाले मानिसलाई चुनौती पक्कै दिएको छ । तर, यसको नकारात्मक पक्षमात्रै छैन भन्ने कुरा यस्ता अभूतपूर्व दृष्यहरुले प्रष्ट पार्दछ ।
‘बसुधैव कुटम्बकम्’ भनेर पृथ्वीका सम्पूर्ण चराचर जगत एकार्कामा निर्भर छन् भन्ने पूर्वीय दर्शनमाथि विकासको नाममा भइरहेको बेवास्तालाई सच्याउने अवसरको रुपमा पनि यो संकटलाई लिने कि !









प्रतिक्रिया दिनुहोस्