Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


‘समाचार अफवाहमात्र, सत्यता छैन’


0
Shares

सुसन रामदाम र अनिल तिवारी (इमेज)

काठमाडौं, पर्सा चैत २९ । भारतीय टेलिभिजन च्यानलहरुले नेपालको सीमामार्फत् भारतमा कोरोना फैलाउने षडयन्त्र भएको अफवाह फैलाएका छन् ।

भारतीय टेलिभिजन ‘टीभी ९’ र ‘न्यूज १८’ ले पर्सा, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले कोरोना संक्रमित ४०–५० जना व्यक्तिलाई भारतमा घुसाएको आरोपसहित समाचार प्रसारण गरेका हुन् ।

तर, समाचारमा सत्यता नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चैत २१ गते ४७औं बाहिनी बटालियन सीमा सुरक्षा बल रामगढवाका कमान्डरले लेखेको पत्रका आधारमा नेपालको बोर्डरमार्फत् भारतमा कोरोना फैलाउने षडयन्त्र भएको समाचार प्रसारण गरिएको छ ।

भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) र प्रहरीका एसपीलाई लेखेको पत्र देखाउँदै मियाँले कोरोना संक्रमित ४०–५० जनालाई भारत पठाएको खबर प्रसारण गरेका थिए ।

बिहारका डिजिपी गुप्तेश्वर पाण्डेसँग गरेको कुराकानीमा बिहार प्रहरीलाई सो सूचना नआएको र नेपाल–भारतको बोर्डरमा आफ्नो कडा निगरानी रहेको बताएका छन् ।

यता, पर्सा, जगरनाथपुर गाउँपालिका अध्यक्ष मियाँले भने समाचार अफवाहमात्र भन्दै यसमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष मियाँ पूर्वमाओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

उनका विषयमा उठेको विवादमा कुनै आधिकारिकता नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतिपय भारतीय सञ्चारमाध्यमले विषयवस्तुको गहिराइमा नपुगी हल्ला र सतही ढंगबाट अतिरञ्जित समाचार प्रसारण गर्ने गरेको पनि विगतमा नदेखिएको होइन ।

तर, पछिल्लो समाचारमा भारतीय सीमा सुरक्षा बलकै हवाला दिइएकोले नेपाल र भारत दुवै देशका अधिकारीहरुको चासो देखिएको हो ।

चैत १८ र १९ गते करिब ५०० को संख्यामा भारतीयहरु रक्सौलतर्फ जान आएका थिए ।

‘लकडाउन’ले रोकिएका उनीहरुमध्ये १८९ जनालाई पर्सा जिल्ला प्रशासनले ‘क्वारेन्टाइन’मा राखेको छ । यसरी रोकिएकाहरु मुसलमानमात्र नभइ मजदुरहरुसमेत रहेको स्थानीय प्रशासनले जनाएको छ ।

हाल पर्साको स्थानीय मस्जिद, मदरसाहरुमा भारतीय मुस्लिम समुदायका केही मानिस बसिरहेका छन् । उनीहरुमध्ये केहीमा कोरोना संक्रमणको आंशकामा स्वाब परीक्षण गरिएको छ ।

अहिले नेपाल–भारत दुवैतर्फ लकडाउनको अवस्था छ । तरपनि कतिपय ठाउँमा सहायक बाटो प्रयोग गरी आवतजावत गर्नेक्रम रोकिएको छैन । जसले संक्रमणको जोखिम भने बढाइरहेको देखिन्छ ।

 भिडियो हेर्नोस्