निर्वाचनसँगै हवाइ उडानमा चाप « Imagekhabar – Online News Portal of Nepal


निर्वाचनसँगै हवाइ उडानमा चाप


117
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं छोड्नेको स्थलगतसँगै हवाई उडानमा पनि चाप बढेको छ ।

शुक्रबार हुने निर्वाचनका लागि घर फर्किनेहरूको चाप बढेपछि आन्तरिक हवाई उडान ४० प्रतिशतले बढेको नेपाल वायुसेवा सञ्चालक संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय रूपमा बढेको पेट्रोलियम पदार्थको मूल्यका कारण हवाई भाडा करिब २२ प्रतिशतले बढ्दा पनि यात्रु संख्यामा उल्लेख्य वृद्धि देखिएको छ ।

नेपाल एयरलाइन्स बाहेक अन्य कम्पनीहरूले स्टलभन्दा ट्रंक रूटमा बढी उडान भर्ने भएकोले त्यता बढी चाप देखिएको हो । यात्रुको चाप बढेसँगै केही कम्पनीले उडान सञ्चालनको समय पनि थप गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमानस्थल १८ घण्टा सञ्चालनका लागि निर्देशन दिएपछि क्रमिक रूपमा समय र उडान तालिका थप हुँदै गएको छ ।

आन्तरिक उडानमा प्रमुख हिस्सा ओगट्ने बुद्ध एयरले अहिले आउने र जाने गरी दैनिक १५० देखि १७० उडान भर्ने गरेको कम्पनीले दावी गरेको छ ।

निर्वाचनसँगै बिहेको मौसम भएकोले यात्रुको चाप बढेको छ । कोभिड अघिको दैनिक करिब १४० उडान हुने गरेकोमा अहिले १७० सम्म उडान हुने गरेको छ ।

यसैबीच, नेपाल वायुसेवा सञ्चालक संघले निर्वाचनको दिन कुनै पनि आन्तरिक हवाई सेवा सञ्चालन नहुने जनाएको छ । तर, मावनीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान भने हुनेछन् ।

सरकारले स्थानीय तह निर्वाचनका दिन आन्तरिक हवाई सेवा बन्द गर्न निर्देशन दिएको थियो भने अन्तर्राष्ट्रिय उडानलाई भने यथावत नै राखिएको छ ।