२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


एक वर्ष पुरा नहुँदै जनप्रतिनिधिहरुलाई अनियमितताको आरोप


0
Shares

कञ्चनपुर, असार २ । स्थानीय तहको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा नहुँदै कञ्चनपुरका जनप्रतिनिधिहरु अनियमितामा मुछिन थालेका छन् ।

विकास निर्माणका नाममा अनियमितता भएको भन्दै कञ्चनपुरका ४ वटा स्थानीय तहका जनप्रतिनिधिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरमा उजुरी परेको हो ।

पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधी विरुद्ध सडक ग्राभेल, सडक कालेपत्रे तथा ठेक्का प्रक्रियामा अनियमिमता गरेको भन्दै उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरले जनाएको छ ।

भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्षमा नगरका विभिन्न वडामा ग्राभेल हाल्दा व्यापक अनियमितता भएको जनगुनासो बढेपछि अख्तियारले छानबिन सुरु गरेको छ ।

आयोगले स्थानीय तहका जनप्रतिनिधिविरुद्ध उजुरी आउन थालेपछि छानबिनमा सहयोग तथा प्रारम्भिक अनुसन्धानका गर्न जिल्ला समन्वय समिति कञ्चनपुरलाई समेत पत्राचार गरेको छ ।

पत्रमा वडा नम्बर २, ७, १०, ११, १३ र १८ मा अनियमितता भएको उजुरी परेको उल्लेख छ ।

कञ्चनपुरमा हालसम्म बेल्डाँडी गाँउपालिका, लालझाँडी गाँउपालिका, बेलौरी नगरपालिका र भीमदत्त नगरपालिका गरी चारवटा स्थानीय तह विरुद्ध अख्तियारमा उजुरी परेका छन् ।