अनुलोमविलोम प्राणायामको फाईदा के छ ? « Imagekhabar – Online News Portal of Nepal


अनुलोमविलोम प्राणायामको फाईदा के छ ?


247
Shares

चन्द्र कटुवाल

अनुलोमविलोम प्राणायामका अनेकौ लाभहरु रहेका छन् । शरीर स्वस्थ राख्न यो महत्वपूर्ण प्राणायाम मानिन्छ । अनुलोमविलोम प्राणायामले स्मृतिमा फाईदा पुर्‍याउँछ । यो रक्तचाप, तनाव, चिन्ता, डर, रिस व्यवस्थापनमा राम्रो मानिन्छ । यसले बिभिन्न एलर्जीलाई पनि कम गराउँछ । छालाको रोगहरुमा निकै लाभदायक छ ।

यो प्राणायाम बिभिन्न किसिमका शारीरिक तथा मानसिक रोगमा लाभदायक मानिन्छ । यसले शरीरमा शुद्ध अक्सिजनको मात्रा बढाईदिन्छ । फोक्सोलाई मजबुद बनाउछ । नाडीलाई शुद्धि गर्न मद्दत गर्दछ । यसले शरीर, प्राण र मनलाई राम्रो गर्छ । हाम्रो शरीरलाई फुर्तिलो बनाउँछ । सम्पूर्ण स्वास्थ्य प्राप्ति हुन्छ । यसको नियमित अभ्यास गर्नाले अनुहारमा चमक आउँछ, नेत्रज्योतिमा फाईदा पुग्दछ । अनिन्द्रालाई व्यवस्थापन गरेर निन्द्रालाई सहज बनाउँछ ।

अनुलोमविलोम प्राणायाम गर्दा ध्यानदिनु पर्ने कुराहरु सावधानीहरु :

अनुलोमविलोम संस्कृत शब्द हो । अनुलोम श्वास सिधा लिनु र विलोम भनेको यसको विपरित छोड्नु हो । अर्थात् एक नाकको प्वालबाट सास भर्ने र अर्को प्वालबाट खालि गर्ने । यसलाई अंग्रजीमा अल्टरनेटिभ ब्रेथिङ पनि भनिन्छ । साथैयसलाई नाडि शोधन प्राणायाम पनि भनिन्छ । किनभने यसले हाम्रो शरीरमा भएका सुक्ष्म नाडिहरुलाई शुद्ध पार्ने काम गर्दछ । साथै विभिन्न ब्लकेजहरुलाई खोलिदिन्छ ।

धेरैजसोले यसको कुनै सावधानी छैन भन्छन् । त्यसो होइन । यसका पनि सावधानीहरु रहेका छन् । निकै कमजोर व्यक्तिहरुले बिस्तारै आराम गर्दै यो प्राणायाम गर्नु पर्छ । रुघाखोकि मोटोपन र डिप्रेशनका बिरामीले ध्यानदिनु पर्दछ ( योगचिकित्सा २०७८, डा. विनोद घिमिरे) । श्वास मुखबाट लिनु हुदैन ।

श्वास हतार –हतार गरेर जोड जोडले लिनु हुदैन । विस्तारै लगातार रुपमा लामो गहिरो श्वास लिनु पर्दछ । श्वास एकदमै बिस्तारै लिनु र विस्तारै छोड्नु पर्दछ । बिस्तारै आफ्नो श्वासको आवाज आफैंले पनि नसुनिने गरि बिस्तारै गर्नु पर्दछ । अनुलोम विलोम बन्द ( श्वास रोक्ने कार्य) को साथ गर्दा बढि लाभकारी हुन्छ । तर मुटुका बिरामीहरुले बन्द गर्नु हुदैन । नाक बन्द रहेको कारणमा भने पहिले जलनेति गरेर नाक सफा गरेर मात्र गर्न उपयुक्त हुन्छ ।

अनुलोमविलोमका लागि बिधि :

कुनै पनि सजिलो आशनमा बस्नुहोस । सुखाशन, ब्रज्राशन, सिद्धासन आदि । यदि कुनै पनि आशन थाह नभएमा पँलेटी कसेर बस्न सकिन्छ । ढाड गर्धन सिधा पार्नुहोस् । दुबै हातलाई सजिलो पारेर घुँडामा राख्नुहोस् । आँखा बन्द गर्नुहोस । नाकको दायाँ प्वालमा दाहिने हातको बुढिऔला राखेर प्वाल बन्द गरिदिनुहोस् । अब बिस्तारै बाँया नाकको प्वालबाट श्वास तान्नुहोस । अब बिस्तारै बाँकी औंलाले बाँया नाकलाई बन्द गर्नुहोस् । बिस्तारै दायाँ प्वाँलबाट श्वास बाहिर फाल्नुहोस । विभिन्न बिषाक्त पदार्थहरु बाहिर गएको महशुस गर्नुहोस् । शरीर हल्का भएको सम्झनुहोस् अनुभव गर्नुहोस् । पुनः बाँया नाकको प्वाल बन्द गरि दायाँबाट गहिरो लामो बिस्तारै श्वास तान्नुहोस । अब दायाँ नाकको प्वाल बन्द गरि बाँयाबाट बाहिर फ्याक्नुहोस । यो एकपटक भयो ।

यसलाई २७ पटकसम्म दोहोर्‍याउनुहोस । यो पाँचमिनेटको अन्तरालमा गर्न सकिन्छ । सुरु सुरुमा अभ्यास गर्दा दिक्क लाग्ने हुन सक्छ त्यसैले ध्यान केवल श्वासमा मात्र राख्ने । गिन्तिका साथ गर्ने । जस्तैः गिन्ति लगाउँदै भित्रै जाने । गिन्ति गर्दा सेकेन्डको रफ्तारमा गर्दा हुन्छ । यसो गर्दा ध्यान बाहिर जान पाउँदैन ।

साथै भित्र लिने श्वास भन्दा बाहिर फाल्ने श्वासलाई केहि लामो पार्ने गर्नु राम्रो हुन्छ । यसरी गर्दा नाडि शुद्धि प्राणायाम अझ बढि लाभकारी मानिन्छ । त्यसको लागि बाहिर केहि समय श्वासलाई रोक्ने । अब बाँयाबाट भर्ने । दुबै नाकको प्वाल बन्द गर्ने र भित्र रोक्ने । अब दाँया नाकको प्वालबाट फाल्ने । केहि समय बाहिर रोक्ने । फेरि दाँया नाकको प्वालबाट भर्ने । फेरी दुबै नाकको प्वाल बन्द गरेर रोक्ने र अब बाँया नाकको प्वालबाट बाहिर फाल्ने तरिका अनुलोम विलोम नै हो ।

यसमा केवल श्वासलाई रोक्ने कार्य मात्र गरिन्छ । तर मुटुको समस्या भएका व्यक्तिहरुले भने श्वास रोक्न हुदैन । यो श्वास रोक्ने कार्य मानसिक रोगमा भने निकै लाभकारी मानिन्छ । यसलाई बिधिपूर्वक सिकिसकेपछि नियमित रुपमा गर्नु निकै लाभदायक हुन्छ ।