के एमालेको ‘सूर्य’ चिन्ह विक्री भएको हो ? « Imagekhabar – Online News Portal of Nepal


के एमालेको ‘सूर्य’ चिन्ह विक्री भएको हो ?


143
Shares

नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले एमाले नेतृत्वलाई जोडदार प्रश्न गरेका छन् –‘सूर्य चिन्ह विक्री भएको हो ?’यो प्रश्न उनले हालै एमालेका सिद्धान्तभन्दा विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारहरूले एमालेको चुनाव चिन्ह सूर्य लिएर आउँदो स्थानीय निर्वाचनमा लड्ने गरी चुनावी गठबन्धन गर्ने सहमतिपछि पार्टीका नेताहरूलाई सोधेका हुन् । तर यतिका दिन भइसक्दा समेत उनको प्रश्नको जवाफ र उपयुक्त खण्डन समेत जिम्मेवार नेताहरूबाट आइ नसकेकाले यो कुरामा सत्यांश देखियो ।

एमालेले के कुरा बुझ्यो भने ऊ विरुद्ध देशैभरि काँग्रेस, समाजवादी, माओवादी, जसपा र जनमोर्चाको चुनावी गठबन्धनले उसलाई जुनसुकै कष्टमा समेत साइजमा ल्याउने भय उसमा क्रमशः बढेर गएकैले उसले राप्रपा र परिवार दललाई काखी चेपेको हो । राप्रपामा पनि राजेन्द्र लिङ्देनवाला हलो चिन्हको चाहिँ यतिखेर देशैभरि निक्कै चर्चा चलेको छ । उसले निकालेको घोषणापत्र,लिङ्देनका भाषण र जनसमर्थनको लहर देख्दा यो पटकको स्थानीय निर्वाचनमा उसले निकै पालिकाहरूमा बाजी मार्लाजस्तो देखियो ।

विश्लेषक सञ्जीव कार्कीका शब्दमा –‘राप्रपाका कमल थापाको गोबरले एमालेको किचन पोतिनु पवित्र हो ।’ बास्तवमा ओलीले पछिल्लो समयमा लिएको बाटो, बोलेका कुराहरू र दर्शनले उनलाई राजनीतिक जीवनको उत्तरार्धमै पनि ओरालो हिँडाइरहेको छ तर एउटा कुरा के साँचो हो भने उनको पार्टी देशव्यापी रुपमा अझै ठूलो, संगठित, व्यवस्थित, धेरै त्यागी र पुराना नेता कार्यकर्ताहरू भएको पार्टी हो । यसमा पनि दम छ । उनले बेला बेलामा लिएका अडानहरू र कार्यनीतिले समेत उनको पार्टीलाई पाँचदलीय गठबन्धनले सितिमिति हल्लाउन सक्दैन । उनकै भाषामा भनिएको जस्तो –‘एमाले क्विन्टलको पार्टी हो भने अरु मिलाएर सेर÷ढक हुन् ।’ अवस्था देशका केही भूभागहरूमा यस्तो हुन पनि सक्छ । तर राजधानीका निवर्तमान हुनै लागेका विद्यासुन्दर शाक्य र इटहरीका द्वारिकलाल चौधरीजस्ता जनताबाट अधिक आलोचितलाई पुनः टिकट दिएर चुनावी रण मैदानमा होम्ने कार्य गर्‍यो भने त्यो उसको सर्वाधिक भूल हुनेछ ।

हुन त अहिले एमालेको चुनाव चिन्ह सूर्य व्यापारिक, विज्ञापनीय र व्यावसायिक ट्रेड मार्क मात्रै हो किनकि सूर्य चिन्हबाट जुनसुकै चुनाव लड्ने मान्छे एमालेको वफादार सिँपाही हुन पर्दैन । एमालेको टिकट लिन कम्युनिष्ट बन्नु पर्दैन । जस्तो कि २०४८ सालमा पदमरत्न तुलाधर, २०७४ मा तमलोपाका हृदयेश त्रिपाठीहरू र अब राप्रपाका कमल थापा र परिवार दलका एकनाथ ढकालहरू सूर्य चिन्हबाट सानदारसँग चुनाव लडिरहेका छन् । यसमा एउटा कुरा शंका गर्ने ठाउँ चाहिँ केमा छ भने एमालेले हिजो होली वाइन खाँदा प्रत्यक्ष अप्रत्यक्ष रुपमा एकनाथ ढकालहरूको र ओलीको रामवादी दर्शनमा कतै भित्री तवरबाट कमल थापाहरूको अभिमत मिलाइको छनक त छैन ? सचेत व्यक्तिहरू अहिले त्यस्ता तर्कहरू समेत निकाल्न लागेका छन् ।

हिजो एमाले सत्तामा हुँदा विदेशी कूटनीतिक व्यक्तिहरू र शक्तिशाली देशका राजदूतहरू उसको मुख्यालयमा भ्रमणमा जाँदा कतिपय अवस्थामा एमालेका केही नेताहरूले माक्र्स, एङ्गेल्स र लेनिनका फोटाहरू चलाखीपूर्वक छोपेका प्रसङ्ग समेत पत्रपत्रिकामा समाचारका विषयहरू बनेका थिए । अहिले भने त्यस्तो स्थिति छैन ।किनकि एमालेले आफूलाई ओपन बनाइसकेको छ । यो हरिद्वारको त्यस्तो गंगा हो जसमा नुहाउन सबैलाई स्वतन्त्रता छ । एमालेमा कथाले मागेपछि कहिले कमल थापा त कहिले एकराज ढकालहरू खुल्लमखुल्ला रुपमा आउन सक्छन् ।

विचारको गतिशीलता समेत बेलाबेला देखाउन पछि नपर्ने एमालेले मुलुकका अन्य पार्टीहरूलाई राजनीतिक रुपमै पछि धकेलिदिएको छ । त्यो कहिले चुनावी घोषणापत्रका रुपमा देखिन्छ भने कहिले नीति तथा कार्यक्रमका रुपमा आउने गर्छ । इतिहासलाई नबिर्सिकन भन्दा २०५२ सालमा उसैको अल्पमत सरकारको समयमा प्रधानमन्त्री मनमोहन अधिकारी, उप प्रधानमन्त्री माधवकुमार नेपाल र अर्थमन्त्री भरतमोहन अधिकारी हुँदा मासिक १ सय रुपैयाँ बूढा बूढीलाई वृद्ध भत्ताका रुपमा दिएर साथै मासिक १० हजार रुपैयाँ गाउँ विकास समितिलाई विकासे बजेटका रुपमा दिएर उसैले जनताको मत र मन जित्दै समाजवादी यात्राको पथालम्बन गरेको हो । यसमा फरक विचारका कुनै पार्टीका अन्य नेताले पनि मत बझाउन सक्दैनन् ।यही सामाजिक भत्ताको एकलौटी जश आफूले मात्र लिनका लागि चुनावी माहोलकै आम सभाहरुमा नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले केही दिनअघि व्याख्यात्मक टिप्पाणीकै शैलीमा कसरत गरेका थिए ।

चुनावले भोलि परिणाम अवश्य दिनेछ । जनताले हरेक पार्टीका नेता र उम्मेदवारलाई सकेको न्याय गर्ने छन् । हालै कार्टुनिष्ट रविन सायमीले आफ्नो फेसबुक वालमा व्यङ्ग्य गर्दै एउटा कोलाज पोष्टर बाहिर ल्याएका छन् जसमा कमल थापाको फोटोसँगै भाषागत भावमा भनिएको छ –‘बहुदलीय जनवाद जिन्दावाद । क. कमल थापा ।’ नेतृत्वलाई पार्टीको बचे खुचेको वर्चश्व बचाउनका लागि यस्ता गह्रौं र अलोकप्रिय निर्णयहरू समेत कुनैकुनै बेला लिनुपर्ने हुन्छ तर आम एमाले समर्थक र मतदाताको भने यो देख्दा भित्र भित्रबाट मन कति कुँडिएर रुँदो हो ? त्यसको आङ्कलन कुनै नेताहरूले गर्न सकेनन् । किन होला ? समयक्रममा यस्ता प्रश्नहरुको उत्तर खोजिनेनै छन् ।

अहिले सर्वत्र उठ्ने गरेको प्रश्न के छ भने एमालेको सूर्य चिन्ह मात्र नभएर काँग्रेसको रूख चिन्हसमेत विक्री भएको अवस्था छ । अन्त टाढा जानै पर्दैन भरतपुरमा प्रचण्डले आफ्नी छोरीलाई जिताउनका लागि गरेका नाना नौरङ्ी तिकडम र त्यहाँका काँग्रेसीहरूको मरे पनि आफूहरूले मैदान नछाड्ने भनेर लिएको अडानलाई तुलना गर्दा यो चुनावमा भोट खसाल्दा मतदाताले एक छापे, दुई छापे, तीन छापे र खाली मतमत्र समेत अधिक रुपमा खसाल्ने पो हुन् कि भन्ने भय बढेर गएको छ ।

आज आफ्नो पार्टीको वर्चश्व बँचाउनका लागि अरुको चिन्हमा भोट हाल्ने बानी आफैँले आफ्ना मतदाताहरूलाई लगाइदिने हो भने भोलि मतदाताहरूले आफ्नो पार्टी छाडेर अन्त सरक्क मत हाल्न गए भने अनि बास्तविक पीडाका दिनहरू सुरु हुनेछन् । भारतमा भारतीय काँङ्ग्रेस अहिले त्यही नियति भोगिरहेको छ । भोलि सोही नियति नेपाली काँङ्ग्रेस र नेकपा एमालेको नहोला कसरी भन्न सकिन्छ ?

अहिले आम मतदाता यही प्रश्न गरेर नेतृत्वप्रति शंकाको नजरले हेरिरहेका छन् । यसको सजिलो र वैज्ञानिक समाधान दिन नसक्ने पार्टी र नेता सामयिक राजनीतिबाट क्रमशः ओझेले पर्दै जाने निशिचत छ । अहिलेको दुःख भनेकै यही हो । के राष्ट्रिय राजनीतिमा अहम् भूमिका खेल्ने काँग्रेस, एमाले र माओवादी यी तीनवटै पार्टीका चुनाव चिन्हहरू विक्री भएका हुन् कि लिजमा केही समयका लागि दिइएको हो ? जिम्मेवार नेताहरूबाट आम मतदाताहरूले खोजेको जवाफ अहिले यही हो ।