धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराइएको हो । यसअघि सत्तारूढ दलहरू कांग्रेसलाई सत्तामा सहभागी गराउने पक्षमा थिएनन् । कांग्रेस प्रदेश सरकारमा सहभागी भएसँगै नेकपा (एस)मा चरम विवाद उत्पन्न भएको छ ।
शुक्रबार अबेर मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसका डा. रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।यस्तै, आर्थिक मामिलामन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ । उनीहरूले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो ।
यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छन् भने एकीकृत समाजवादीकै कुलवीर चौधरी नियुक्त भएका छन् । अर्थ राज्यमन्त्रीबाट माया तामाङ बोहरा फिर्ता भएकी छन् भने अमर साउद नियुक्त भएका छन् । सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजवादीले फिर्ता बोलाएको छ । नवनियुक्त मन्त्रीलाई शपथ खुवाइएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्