Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


मन्त्री मनाङेद्वारा कर्मचारीमाथि हातपात, बुधबार मन्त्रालय नै आएनन्


871
Shares

पोखरा । पटक–पटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले कर्मचारीमाथि हातपात गर्नुभएको छ ।

मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी एवं सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गर्नुभएको हो ।

मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले हातपात गरेको स्रोतले जनायो ।

तर, मन्त्रीका स्वकीय (पिए) विशाल बरालले भने समाचारमा आएजस्तो हातपात नगरेको दाबी गर्नुभयो ।

‘समाचारमा आएजस्तो हैन, सामान्य रूपमा सम्झाउने काममात्र भएको हो,’ उहाँले भन्नुभयो, ‘योजना धेरै थिए, ती योजना अघि बढाउनुपर्ने भन्नेमा मन्त्रीज्यूको कुरा थियो ।’

यस विषयमा बुझ्न खोज्दा कुटाइ खाएका भनिएका सूचना अधिकारी प्रकाश ओझाको मोबाइल स्वीच अफ छ ।

यता, गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेका सरकारका प्रवक्ता कुमार खड्काले यसबारेमा आफूले मिडियाबाट थाहा पाएको बताउनुभयो ।

‘यसबारेमा प्रमुख सचिवसँग बुझ्दा मुख्यमन्त्री कार्यालयमा जानकारी आएको बताउनुभयो,’ उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीज्यू पोखरा बाहिर भएकोले आएपछि माननीय खेलकुद मन्त्री र कर्मचारीसँग सोधेर निर्णय लिनुहुन्छ, त्यो निर्णय लिनुहुन्छ, त्यही जानकारी गराउँछु ।’

मंगलबार घटना भएपछि बुधबार मन्त्री गुरुङ मन्त्रालय आउनुभएको छैन । मन्त्रालयमा आफ्ना पिएलाई पठाए पनि उनी पनि केहीबेर बसेर फर्किएको कर्मचारीहरूको भनाइ छ ।

यसैबीच, मन्त्री मनाङेले पोखरामा बुधबारदेखि सुरु भएको प्याराग्लाइडिङ प्रतियोगिता उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम भए पनि उपस्थित हुनुभएन । प्रतियोगिता प्रदेश सांसद राजीव पहारीले गरे ।