१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


प्रतिबन्ध उल्लंघन गर्दै विदेशबाट आएका ६९ नेपालीको आज स्वाब परीक्षण गरिने


0
Shares

काठमाडौं । सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीबाट आएका ६९ जनाको आज स्बाव परीक्षण गरिने भएको छ ।

विभिन्न विमान कम्पनीले ६९ जना नेपालीलाई हिजो काठमाडौं ल्याएका थिए ।

अध्यागमन विभागका अनुसार थाइ एयरवेज र एयर इण्डियाले नेपालमा आवागमनमा प्रतिबन्ध लगाइएका मुलुकमा रहेका नेपालीहरुलाई काठमाडौं उतारेका हुन ।

यसैगरी हिजो राति सिंगापुर एअरलाइन्सबाट आएका एक महिलासहित २ पुुरुषलाई पनि क्वारेनटाइनमा राखिएको छ । ती मध्ये एकजना नेदरल्याण्ड्स् र अन्य २ जना जापानबाट आएका नेपाली हुन ।

यद्यपि उनीहरु संक्रमित भए नभएको पुष्टि भएको छैन । क्वारेन्टाइनमा पठाइएका मध्ये ७४ बर्षिया वृद्धासहित ५ जना महिला र अन्य पुरुष रहेका छन् ।

क्वारेन्टाइनमा राखिएकाहरुलाई काउन्सिलिङ गर्न कठिनाइ भए पनि सम्झाई बुझाई गरेर राखिएको नेपाली सेनाका प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिए ।

क्वारेन्टाइनमा राखिएकाहरुको स्वाब भने आज सङ्कलन गरिने भएको छ । परीक्षण पोजेटिभ देखिए उपचारका लागि शहीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु लगिनेछ ।

आफ्नै इच्छाले नेपाल फर्किएका उनीहरु क्वारेण्टाइनमा रहँदाको खर्च आफैँले बेहोर्नुपर्नेछ ।

सरकारले शुक्रबार राति १२ बजेपछि युरोप र खाडी मुलुक मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउन नपाउनेगरी प्रतिबन्ध लगाएको थियो ।

साथै यी मुलुकबाट अन्य मुलुकलाई ट्रान्जिट बनाएर पनि यात्रु आउन नपाउने जनाएको थियो ।

सरकारले यो सम्बन्धी परिपत्र विदेशी एयरलाइन्सहरूलाई पठाएको भए पनि त्यसको उल्लंघन गर्दै विदेशी एयरलाइन्सहरूले नेपाली नागरिकलाई ओसारेका हुन ।

सरकारी निर्णय अटेर गरी काठमाडौंमा यात्रु झार्ने एयरलाइन्स कम्पनीहरूलाई कारबाही गर्नका लागि नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराइसकेको अध्यागमन विभागले जनाएको छ ।