१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


भारतबाट आएका दुई जना आइसोलेसन वार्डमा भर्ना


0
Shares

कन्चनपुर । कोरोना भाइरस संक्रमण भएको आशंकामा कञ्चनपुरमा दुई जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

भारतमा रोजगारी गरी नेपाल फर्किदै गरेका उनीहरुमा ज्वरो आएको पाइएपछि महाकाली अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो । यसरी अस्पताल भर्ना गरिएकाहरुमा भारतमा रोजगारी गरि फर्किदै गरेका पुरुष छन् ।

उनीहरुको नमूना संकलन गरी परीक्षणका लागि काडमाण्डौ पठाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत शिवराज सुनारले जानकारी दिए ।

उनले गड्डाचौकी नाका हुँदै भित्रिने नेपालीको चेकजाँचका क्रममा झण्डै १५ जनामा एकसय डिग्रीभन्दा बढी ज्वरो देखिएको बताए ।

जसमध्ये दुई जनामा ज्वरो कम नभएपछि उनीहरुलाई कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको हो ।

ज्वरो देखिएका अन्य १३ जनालाई औषधी खुवाउँदा सामान्य अवस्थामा आएपछि परामर्श दिएर पठाएको जनाइएको छ ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिवार सबैभन्दा बढी १५ हजार ८ सय नेपाली भारतबाट नेपाल आएका छन् ।

यस्तै १५ दिनमा झण्डै ६० हजार भन्दा बढी नेपाली भारतबाट नेपाल भित्रिएको गड्डाचौकी हेल्थ डेस्कको तथ्यांकमा उल्लेख छ ।