Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


मतदाताको मन जितेर उम्मेदवार छान्न घरदैलो


78
Shares

धादिङ । स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा जिल्लाको विकट हिमाली बस्ती तिप्लिङका नेता जीवन तामाङ र मेन घले कार्यकर्तासहित शुक्रबार सेर्तुङ पुगे। रुविभ्याली–१ र २ का नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, मतदाता करिब ४ घण्टा पैदल हिँडेर ३ नम्बर वडामा पर्ने सेर्तुङमा चुनावी प्रचार र सभा गर्न पुगेका हुन्। दलहरूको चुनावी प्रचार अघिल्लो पटकभन्दा अहिले अलि फरक देखिएको छ। पहिला चुनाव लड्ने टुंगो लागिसकेपछि केही कार्यकर्ताका साथ उम्मेदवार गाउँबस्ती डुल्थे।

त्यस्तै एउटा वडाका नेता, कार्यकर्ता र मतदाता अर्को वडामा प्रचारका लागि पुगेको खासै देखिँदैनथ्यो। तर यसपटक हिमाली बस्ती रुविभ्यालीका नेता कार्यकर्ता र आफू निकट मतदातासहित एक वडाबाट अर्को वडा र घर-घरमा प्रचारका लागि हिँडिरहेका छन्। रुविभ्याली गाउँपालिका–१, तिप्लिङबाट रुविभ्याली–३, सेर्तुङमा कार्यकर्ता र मतदातासहित पुगेका तामाङ भन्छन्, ‘अब उम्मेदवार पार्टी नेतृत्वले होइन, मतदाताले छान्ने हो। त्यसैले हामी पार्टीमा आस्था राख्नेहरू सबैजना गाउँगाउँ डुलिरहेका छौं। मतदातासँग नै उम्मेदवार मागिरहेका छौं।’ रुविभ्यालीका गाउँगाउँमा नेता–कार्यकर्ता हिँडेको देख्दा लाग्छ मतदान हुने दिन आउन केही दिनमात्रै बाँकी छ। एउटा चुचुरो काटेर अर्को बस्ती पुगेका नेता–कार्यकर्तालाई स्थानीयले पनि राम्रै आश्वासन दिने रहेछन्।

काँधमा झन्डा बोकेर चुनावी प्रचारमा पुगेका घलेलाई रुविभ्याली–३, अल्यानटोलका एक मतदाताले भने, ‘जे छ मनमा छ, काका चिन्ता नगर्नुस्। हामी आउँछौं, ढुक्क साथ हिँड्नुस्।’ गाउँमा महिला, पुरुष, युवकयुवतीको उत्साहपूर्ण लस्कर देख्दा लाग्छ– कसैलाई पनि रुविभ्यालीमा चुनाव जित्न त्यति सहज छैन।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।