Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


प्रहरीमा १६ वर्षमै ‘पेन्सन’ प्रस्तावः राज्यलाई थप आर्थिक भार नपर्ने दावी


10k
Shares

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीका लागि सेवा प्रवेशको १६ वर्षमै निवृत्तिभरण ९पेन्सन० को माग गरेका छन्। दुवै प्रहरी संगठनले आफ्नो नियमावलीमा भएको ‘२० वर्षे’ व्यवस्थालाई संशोधन गरेर माग सम्बोधन गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन्। प्रहरी नियमावली २०७१ (२०७७ सम्म अद्यावधिक) को नियम १३१ (१) ले नेपाल प्रहरीका कर्मचारीले निवृत्तिभरणका लागि २० वर्ष वा सो भन्दा बढी काम गरेको व्यक्तिलाई योग्य मानेको छ। सो व्यवस्थामा भनिएको छ, ‘२० वर्ष वा सोभन्दा बढी समयसम्म प्रहरी सेवामा काम गरेका प्रहरी कर्मचारीले नोकरीबाट अवकाश पाएको मितिदेखि निवृत्तिभरण पाउनेछन्।’

२०६० चैत २६ अगाबै नियुक्ति भएकाहरूका हकमा भने प्रहरी निरीक्षक (इन्स्पेक्टर)भन्दा माथिका अधिकृतका लागि २० वर्ष, प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) का लागि १८ वर्ष र हबलदार र जवानका लागि भने १६ वर्षलाई नै आधार मानिएको छ। यो बुँदा संशोधनका लागि नेपाल प्रहरीले गृह मन्त्रालयमा प्रस्ताव राखेको छ।

प्रहरीले सोही नियममा भएको व्यवस्थाअनुसार ‘२०६० चैत २६ अगाबै नियुक्त भएकाहरू’का लागि गरिएको व्यवस्था त्यसपछि भर्ना भएका प्रहरी कर्मचारीका लागि पनि लागू गर्न माग गरेको हो। यस्तै सशस्त्र प्रहरीको सम्बन्धमा ‘सशस्त्र प्रहरी नियमावली २०७२’ को नियम ७० को निवृत्तिभरणसम्बन्धी व्यवस्थामा नेपाल प्रहरीको जस्तै व्यवस्था गरिएको छ। जहाँ पेन्सनका लागि योग्य हुन ‘२० वर्ष वा सोभन्दा’ बढी भन्ने व्यवस्था गरिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।