
बारा । बारामा कोरोना अस्थायी उपचार केन्द्र संचालन गर्न काम सुरु गरिएको छ ।
प्रदेश २ मा पहिलो पटक तीन दिनभित्र संचालनमा ल्याउने गरी सिमरामा एक सय शैयाको कोरोना अस्थायी उपचार केन्द्र संचालन गर्न काम थालिएको हो ।
जितपुर सिमरा उपमहागरपालिका सहितको सर्वपक्षिय बैठकको निर्णय अनुसार सिमरा २ मा रहेको एक दशकदेखि बन्द सयौं कोठा भएको गार्मेन्ट र जाली उद्योगमा कोरोना उपचार केन्द्र संचालन गर्ने तयारी भएको हो ।
कोरोना विशेष अस्थायी अस्पताल तीन दिनमा सञ्चालन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, संघ संस्था, स्थानीयबासिन्दा, जनप्रतिनिधि र समाजसेवीसहितको टोलीले अस्पताल सञ्चालनको पूर्वाधारमा लागेका छन् ।
तत्काल एक सय सैयाको अस्थायी अस्पताल बनाएर सेवा आरम्भ गर्ने र आवश्यकताअनुसार पाँच सय शैयासम्मको बिस्तार गर्न सकिने गरी उपचार केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ ।
स्थानीय तहसहित विभिन्न संघ संस्थाले प्रदेशमै पहिलो पटक यो अभियान थालेपछि सहयोगीहरु बढेका छन् ।
स्थानीय उद्योगहरुले तत्काल एक सय शैया उपलब्ध गराउने भएका छन् भने सेना, सशस्त्र र स्थानीय तहले चिकित्सक, नर्स र उपकरणहरु व्यवस्था गर्ने गरी संचालन प्रक्रिया थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्