काठमाडौं । रुस–युक्रेन द्वन्द्वको असर नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा परेको छ । द्वन्द्वका कारण विगत ६ वर्षदेखि रुसमा हुँदै आएको नेपाली चियाको बजारमा ‘ब्रेक’ लागेको हो । नेपालबाट प्रत्येक वर्ष ३ लाख किलो अर्थोडक्स चिया रुस निर्यात हुँदै आएको थियो । तर द्वन्द्वका कारण नेपाली चियाको बजार भारत र खाडी मुलुकमा सीमित बन्ने भएको छ ।
झापाको नेचर हिमालय चिया उद्योगले रुसमा अर्थोडक्स चियाको बजार स्थापित गरेको थियो ।
उद्योगले इलामको अन्तु, साखेजुङका चिया उद्योगबाट समेत चिया खरिद गरी रुस पुर्याउँदै आएको नेचर हिमालय चिया उद्योगका अध्यक्ष डा। एकनारायण चापागाईँले बताए । यी उद्योगबाट प्रत्येक वर्ष १० करोड रुपैयाँ बराबरको चिया रुस निर्यात हुँदै आएको थियो ।तर, अमेरिका साथै युरोपका देशले रुसमाथि लगाएको आर्थिक प्रतिबन्धका कारण चिया निर्यातमा समस्या भएको चापागाईँले कारोबारलाई बताए ।
“ढुवानी गर्ने फ्रेन्च–अमेरिकी कम्पनीले ढुवानी बन्द गरेका छन्,” चापागाईँले भने, “ढुवानीका लागि प्रयोग गर्ने कन्टेनर नै नहुँदा रुस र नेपालको चियाको व्यापारिक चेन नै लथालिङ्ग बनेको छ ।” रुसको बजारमा श्रीलंका, चीन, भियतनामको चियामा भने कुनै पनि असर नपरेको उनले बताए । “नेपाल भूपरिवेष्टित मुलुक भएका कारण नेपाली चिया तत्काल रुसको बजार पुर्याउन चुनौती छ,” उनी भन्छन्, “अरु देशले समुन्द्री मार्ग हुँदै रुसमा चिया पुर्याउँदै आएका छन् ।”
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्