
प्रज्ञा तिमल्सिना र विनोद बजगाइँ (इमेज)
काठमाडौं, चैत ७ । विश्व स्वास्थ्य संगठनले ‘कोरोनाभाइरस’को संक्रमण कम गराउन स्वास्थ्य परीक्षण नै मुख्य उपाय भनेको छ ।
तर, नेपालमा भाइरसको त्रास बढ्दै गएपनि सरकारले परीक्षणको दायरा फराकिलो बनाउन सकेको छैन ।
प्रत्येक दिन १२ देखि २० जनाको मात्र स्वास्थ्य परीक्षण हुँदै आएको छ ।
संक्रमणको आशंका गरिएका व्यक्तिहरुको मात्र स्वास्थ्य परीक्षण गरिने प्रणालीले नेपालमा कोरोनाभाइरसको जोखिम बढाएको छ ।
सरकारले विदेशबाट फर्किएका तर रुघाखोकी, ज्वरो आएकाको मात्र कोरोना परीक्षण गर्दा यसले जोखिम बढाएको सर्वसाधारणहरुको गुनासो छ ।
विदेशबाट फर्किएका व्यक्तिले कतिजनालाई भेटे, कहाँ–कहाँ गए भन्ने अभिलेख नै नराखी आशंका गरिएकाहरुको मात्र परीक्षण गर्दा जोखिम बढेको हो ।
चिकित्सकहरुले रुघाखोकी, ज्वरो वा अन्य कुनै ‘भाइरल इन्फेक्सन’ भएका सबै व्यक्तिको स्वास्थ्य परीक्षण गराउन माग गरेका छन् ।
संक्रमण फैलिएको झन्डै तीन महिना पुग्दा ५२९ जनाको मात्र स्वास्थ्य जाँच भएको छ ।
केन्द्रीय प्रयोगशालाले दिनहुँ १५ सयको परीक्षण गर्न सकिने जनाएपनि निमोनिया, रुघाखोकी, ज्वरो आएर प्रयोगशाला गएका सर्वसाधारण र चिकित्सकहरुको पनि स्वास्थ्य परीक्षण हुँदैन ।
सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्य परीक्षणलाई नबढाएसम्म यो समस्या समाधान हुन नसक्ने बताउँछन् ।
यस्तै, सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा पनि ध्यान दिएको छैन । अस्पतालले ‘सर्जिकल’ मास्क नदिँदा विदेशबाट आएका वा रुघाखोकी–निमोनियाका बिरामीलाई पनि यत्तिकै उपचार गर्नुपरेको त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुको गुनासो छ ।
ज्वरो, रुघाखोकी तथा निमोनिया भइ अस्पताल आउने बिरामीको संख्या कम भएपनि सुरक्षित रहन आफूहरुको पनि परीक्षण गर्न चिकित्सकहरुले माग गरेका छन् ।
अस्पतालहरुले अहिलेसम्म ‘फिवर क्लिनिक’समेत स्थापना गर्न सकेका छैनन् । टिचिङ अस्पतालले भने आगामी आइतबारदेखि मात्र यो क्लिनिक सुरु गर्ने जनाएको छ ।
नेपालमा कोरोनाभाइरसको संक्रमण नदेखिएपनि जोखिम भने उच्च रहेको छ । जसका कारण सरकारले स्वास्थ्य परीक्षणको दायरालाई भने फराकिलो बनाउनु नै पर्छ । नत्र यो रोगको जोखिम देखियो भने भयावह रुप नलेला भन्न सकिँदैन ।
प्रतिक्रिया दिनुहोस्