
काठमाडौं । २०७१ सालमा जोगबुडा र शीर्ष गाउँ विकास समिति गाभेर नगरपालिका घोषणा गरिरहँदा दुर्गम नगरपालिकाको रूपमा चिनिएको परशुराम नगरपालिका अहिले विकासोन्मुख नगरपालिका भएको छ । नगरपालिका घोषणाताका परशुराम क्षेत्रमा जानका लागि एउटै सडक थियो । अत्तरियाबाट बुडर हुँदै आलिताल भएर जोगबुडा पुगिन्थ्यो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा परशुराम क्षेत्रमा सडक सञ्जाल माकुराको जालोझैं फिँजिएको छ ।
संघ र प्रदेश सरकारको संयुक्त लगानीमा दैजी–लिप्ना–जोगबुडा निर्माण सम्पन्न हुने क्रममा छ । परशुरामका मेयर भीमबहादुर साउँदले सो सडकको अधिकांश खण्ड आगामी असारसम्म कालोपत्रे भइसक्ने गरी काम भइरहेको बताए । परशुरामलाई तराईसँग जोड्नका लागि नगरपालिकाले आफ्नै लगानीमा जोगबुडा–तातापानी–भीमदत्तनगर सडक निर्माण गरिरहेको छ । “यो सडकको पनि ट्र्याक खोल्ने काम सम्पन्न भएको छ,” मेयर साउँदले भने, “हाम्रोतिरबाट हामीले काम गरिरहेका छौं । अर्कोतिरबाट भीमदत्त नगरपालिकाले काम गरिरहेको छ । यो बाटो बन्यो भने चाँदनी र तातापानीका नागरिकलाई महेन्द्रनगर पुग्न आधादेखि एक घण्टा मात्रै लाग्छ ।”
गौरीकान्त सडक र महाकाली करिडोरले समेत कञ्चनपुर र डँडेलधुरा जिल्ला सदरमुकाम जोड्ने गरी सडक निर्माण भइरहेको छ । परशुराम नगरपालिकाले सबै वडाको वडा केन्द्र र बस्तीहरूलाई समेत सडक सञ्जालले जोडेको छ । “म चुनावमा भोट माग्न जाँदाखेरि प्रायः सबै ठाउँमा हिँडेर पुगेको थिए,” मेयर साउँदले भने, “अर्को पटक भोट माग्न आउँदा गाडी चल्ने सडक हुन्छ भनेको थिएँ । त्यसैअनुसार नगरपालिकाको बजेट केन्द्रित गरेर सबै बस्तीमा नसके पनि ठूला बस्तीहरूमा गाडी चल्न सक्ने गरी सडक पु¥याएका छौं । अब नगरपालिकामा आउने साथीहरूलाई सडक स्तरोन्नति गर्दै विकास गर्ने अवसर मिल्ने गरी काम गरेका छौं ।”
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्