५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


सडक निर्माणमा ठेकेदारकाे चरम लापरबाही,कांग्रेस दाङद्वारा कारबाहीको माग


78
Shares

काठमाडौ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको भन्दै नेपाली कांग्रेस दाङले कारबाहीको माग गरेको छ ।

नेपाली कांग्रेस दाङले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणमा भएको ढिलासुस्तीका कारण २२ मृत्यु भई सकेको भन्दै लापरबाही गर्ने ठेकेदारलाई कारवाही गर्दै सडक निर्माणको कार्यलाई अघि बढाउन आग्रह गरेको हो ।

विकास निमार्णमा भएको ढिलाई र वेवास्ताका कारण सर्वसाधारण नागरिकले सास्ती भोग्नु परिरहेको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले बताउनुभयो ।

आर्थिक लेनदेनको मुद्धामा सडक निर्माण कम्पनीका प्रतिनिधि पक्राउ परिसकेकाले सत्यतथ्य पत्ता लगाई दोषीलाई हँदैसम्मको कारबाहीको माग कांग्रेसले गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर समेत रहेका घनश्याम पाण्डेका छोरा तथा फोरलेन सडक बनाउने ठेकेदार अनुप पाण्डेलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले फोरलेन सडक समयमै निर्माणका लागि पटकपटक पहल गरेपनि निर्माण व्यवसायीको लापरवाहीले समयमै सडक निर्माण हुन नसकेको बताउनुभयो ।

बैंक कसुरमा पक्राउ गरिएकाले दोषीलाई सजाय हुने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।