इलाममा पर्यटकीय क्षेत्रको विकासका लागि जुट्दै स्थानीय तह « Imagekhabar – Online News Portal of Nepal


इलाममा पर्यटकीय क्षेत्रको विकासका लागि जुट्दै स्थानीय तह


195
Shares

इलाम । इलामको पर्यटकीय क्षेत्रको विकास लागि स्थानीय तहले चासो देखाउन थालेका छन् ।

पर्यटकको प्रमुख रोजाइमा इलाम पर्न थालेपछि स्थानीय तहले पनि नयाँ-नयाँ गन्तव्यको खोजी गर्न थालेका हुन् । जस्ले गर्दा नयाँ पर्यटक स्थल समेत आन्तरिक पर्यटकको गन्तव्यस्थलको रूपमा विकास हुँदै गएको देखिन्छ ।

इलामको माईजोगमाई गाउँपालिको केन्द्र नयाँबजार देखि ५ किलोमिटरको यात्रामा पुग्न सकिने पर्यटकीयस्थल हो, थुम्केरानी । पछिल्लो समय थुम्केरानीमा सूर्योदय  र सूर्यास्तको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् ।

इलाम सदरमुकाम इलाम बजारबाट सूर्योदय हेर्नको लागि सबै भन्दा नजिक पर्ने भएकाले पर्यटकहरुको पहिलो रोजाई थुम्केरानी बन्दै गएको हो ।

इलाम बजारदेखि सोयाङ हुँदै नयाँबजारसम्म गाडीबाट १ घन्टामा पुग्न सकिन्छ, थुम्केरानी । नयाँबजार बास बसेर बिहानै ३० मिनेटमा पुग्न सकिने भएपनि अहिले थुम्केरानी क्षेत्रमा नै होमस्टे संचालनमा आएका छन् ।

असोज, कात्तिक, मंसिर, चैत्र र वैशाख महिनामा थुम्के क्षेत्रमा बढी पर्यटकहरु पुग्ने गरेका छन् । समुुद्र सतहको २ हजार ४ सय मिटर उचाईमा रहेको थुम्केरानीको पहिचानको प्रचार हुँदै आएको स्थानीयको भनाइ छ ।

थुम्केरानी क्षेत्रबाट इलामका १० वटै स्थानीय तहसँगै तराईका फाँटहरू पनि मज्जाले दृश्यावलोकन गर्न सकिन्छ । आँखै अगाडि नियाल्न सकिने छिमेकी देश भारतका पर्यटकीय सहरहरु दार्जिलिङ्ग, कर्साङको दृश्यले हरेक पर्यटकको मन फुरुङ्ग बनाउँछ ।

यहाँ पुग्ने पर्यटकले घना जंगल, फराकिला फाटहरु, हिमश्रृङ्खलासँगै लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको दृश्यावलोकन गर्न सक्नेछन् ।

यस्तै,जिल्लाकै सन्दकपुर गाँउपालिकामा पर्ने माइपोखरी रामसार क्षेत्र हो । धार्मिक र पर्यटकीय महत्व बोकेको माइपोखरी क्षेत्रमा अहिले पर्यटन पूर्वाधार निर्माणको काम सुरु भएको छ ।

त्रिधार्मिक स्थलको रुपमा विकास गर्ने उदेश्यले पर्यटन पूर्वाधार निर्माणको काम सुरु भएको हो । पर्यटकहरुको घुमफिरको समय बढाउने उदेश्यले पूर्वाधार बनाईएकोे सन्दकपूर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो ।

इलाम सदरमुकामदेखि १३ किलोमिटर दुरीमा रहेको माइपोखरी क्षेत्रको मुख्य जालसय क्षेत्रबाट नजिकै रहेको जोरपोखरीमा बाध बाधेपछि पोखरीमुनि रहेका पानीका श्रोतहरु पनि सुक्ने छैनन् । जसले गर्दा ग्रामीण बस्तिहरुमा पानीको अभाव भोग्नुपर्ने समस्याको अन्त्य समेत हुने देखिन्छ ।