काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आज शुक्रबार अपरान्ह नेपाल आउँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्था कडा पार्नुका साथै आवश्यक तयारीसमेत गरिसकेको छ ।
चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच परराष्ट्र मन्त्रालयमा शनिबार हुने द्विपक्षीय वार्तामा चीनसँग पहिला भएका केही सम्झौता परिमार्जन गर्ने तयारी पनि भइसकेको बुझिएको छ । सो सम्बन्धमा जानकारी लिन नेपाल समाचारपत्रले बिहीबार परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालसँग राखेको जिज्ञासामा उहाँले अहिले जानकारी दिन नमिल्ने बताउनुभयो ।
हुन त चीनसँग वार्ता गर्नुपर्ने धेरै विषयहरू छन् । हालै मात्र संसद्बाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता पारित भएको पृष्ठभूमिमा हुन लागेको यो भ्रमणमा एमसीसीबारे नेपाल र चीन दुवै पक्षले आफ्नो धारणा स्पष्ट गर्नुपर्ने त छँदै छ । त्यसमाथि युक्रेन आक्रमणबारे संयुक्त राष्ट्रसंघको महासभामा राखिएको ‘रुसलाई निन्दा गरिएको प्रस्ताव’मा चीनले तटस्थ बस्न रोजेको बेलामा नेपालले भने प्रस्तावमा समर्थन जनाएको थियो । यस विषयमा दुई देशबीच असमझदारी उत्पन्न नहोस् भनेर चीनसमक्ष नेपालले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने आवश्यक्ता पनि रहेको कूटनीतिज्ञहरूको बुझाइ छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्