Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


‘एमाले एक्लै चुनाव लड्छ’


91
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट चुनाव जितेर पार्टी छाडेका नेताले जनप्रतिनिधिको पद त्याग गर्नुपर्ने बताएका छन्। एमालेले चुनाव जिताइदिए पनि पार्टी त्यागेका जनप्रतिनिधि ‘लाजैबिना’ पदमा टाँसिइरहेको टिप्पणी उनको छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा निर्वाचन जितेको इलामको क्षेत्र नम्बर १ स्थित फिक्कल बजारमा आयोजित एमालेको आमसभामा अध्यक्ष ओलीले खनाललाई नै इंगित गर्दै भने, ‘एमालेका जनताले जिताएर सांसद बनाइदिएको फुली अझै छातीमा टाँसेर हिँड्न लाजसरम छैनरु पार्टी नै छाडिसकेपछि त्यो फुली फुकाल्नु पर्दैन ?’

उनले एमालेबाट चुनाव जितेर पार्टी छाडेका जनप्रतिनिधिले पनि जनप्रतिनिधिको ‘फुली’ लगाएर हिँड्न नमिल्ने बताए। नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री खनालले केही दिनअघि निर्वाचनमा एमालेको बाकस भोट नदिएर खाली गर्नुपर्ने अभिव्यक्ति दिएकोमा पनि ओलीले टिप्पणी गरे। उनले भने, ‘सूर्योदयको जिल्लामा सूर्य चिह्नकै बाकस खाली गरिदिने कुरा आएछ। म अहिले केही भन्दिनँ, बाकस कसको खाली हुन्छ, वैशाख ३० गते जनताले देखाइदिने छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।