Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


युक्रेनमा सैन्य आक्रमण रुसी आकलन भन्दा बाहिर


15.5k
Shares

काठमाडौँ । युक्रेनमा रुसी हमला चौथो सातामा प्रवेश गरेको छ। विश्वमा सैन्य शक्तिका हिसाबले अग्रस्थानमा रहेको भनिएको रुसले युक्रेनलाई छोटो अवधिमा कब्जा गर्ने अनुमान गरिएको थियो। तर युद्धमा रुसी सैनिकले रणनीतिक र प्राविधिक दुवै हिसाबले सफलता हासिल गर्न सकेका छैनन्। चौथो सातासम्म पनि रुसले युक्रेन हमलालाई निर्णायक विन्दुमा पुर्‍याउन सकेको छैन। युक्रेन हमलामा रुसी सैनिकको प्रदर्शन कमजोर देखिएको छ।

भियतनाममा फ्रान्स र अमेरिकी युद्धको इतिहासका लागि पुलित्जर पुरस्कार विजेता तथा अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक फ्रेडरिक लोजभाल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका जनतासँग राजनीतिक र नैतिक युद्ध हारिसकेको बताउँछन्। उनी सैनिक बलमा रुसले युक्रेनसँगको सम्बन्ध बलियो बनाउन नसक्ने बताउँछन्।

एले विश्वविद्यालयमा इतिहासका प्राध्यापक तथा हार्वड विश्वविद्यालयका पूर्वफ्याकल्टी मेम्बर आर्ने वेस्ट्याड पनि शक्तिशाली रुसी सेनाले युक्रेनमाथि कब्जा गर्न सक्ने वा आफूले चाहेअनुसार गर्न सक्ने तर त्यसको मूल्य भयानक हुने बताउँछन्। युक्रेन हमलामा रुसी सैनिकको मृत्युको मूल्य र आर्थिक भार रुसका लागि भारी पर्ने उनले बताए। यो भार सामना गर्न रुस सक्षम नहुने उनको विश्लेषण छ। पश्चिमा मुलुकहरूले लगाएको प्रतिबन्धले रुसको अर्थतन्त्र र त्यहाँको मुद्रा कमजोर भइसकेको छ। यो युक्रेन हमलाको नतिजा हो। युक्रेन हमलाको मूल्य रुसले यसरी नै चुकाइरहेको उनको तर्क छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।