खिलनाथ ताजपुरिया (इमेज)
काठमाडौं, चैत १ । बेलायतका राजकुमार ह्यारी २०७२ सालको विनासकारी भूकम्पपछि नेपालको पाँचदिने औपचारिक भ्रमणमा आउँदा ह्यारीको काठमाडौं यात्रा नमस्तेबाट सुरु भएको थियो ।
त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदा नमस्कारको मुद्रामा देखिएका ह्यारीले त्यसपछिका सबै ‘हाई हाइप्रोफाइल’ भेटमा पनि नमस्तेलाई निरन्तरता दिए ।
अहिले सम्पूर्ण विश्व ‘कोरोनाभाइरस’को कहरमा फसेको बेला लन्डनमा आयोजित एक कार्यक्रममा बेलायतका राजकुमार चाल्र्सले दुई हात जोडेर पाहुनालाई गरेको सत्कार निकै चर्चामा छ ।
यही साता बेलायतमा सम्पन्न ‘कमनवेल्थ रिसेप्सन’मा त्यहाँका राजकुमार चाल्र्सले हात जोडेर आमन्त्रित अतिथिलाई स्वागत गरे ।
यो कोरोनाभाइरसको संक्रमण फैलन सक्ने त्रासका कारण अपनाइएको नयाँ सत्कार विकल्प हो ।
किनकि, बेलायतमा हात मिलाउने तथा अंकमाल गरेर अतिथिलाई स्वागत गर्ने परम्परा छ । जुन परम्परा यसपटक बेलायतसहित विश्वका धेरै मुलुकले तोडेका छन् ।
पश्चिमा संकृतिको उपज मानिने अंकमाल, हात मिलाउने तथा चुम्बन गर्ने परम्परा पच्छ्याउन थालेको नेपाली युवापुस्तामा समेत संक्रमण सर्ने त्रासकै कारण नमस्ते गर्ने अभियान चलेको छ ।
विज्ञहरुकाअनुसार नमस्ते संस्कृत शब्दबाट आएको उत्तम पूर्वीय सभ्यताको सत्कार संस्कार हो । जसलाई वैज्ञानिक आत्माको संकेतका रुपमा हिन्दुधर्म परम्पराले अंगिकार गर्दै आएको छ ।
यही साता मुटुको चक्रजस्तै दुई हात जोडेर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ह्वाइट हाउस’मा आयरल्यान्डका प्रधानमन्त्री लियो भराडकरलाई नमस्ते गरे ।
हात मिलाउँदा, अंकमाल गर्दा तथा चुम्बन गर्दा भाइरसको संक्रमण फैलने भन्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यही साता आफ्ना नागरिकहरुलाई हात नमिलाइ नमस्ते गर्न आह्वान गरे ।
फ्रान्सका राष्ट्रपति इम्यान्युएल माइक्रो, नेदरल्यान्ड्सका राजा विलियम अलेक्जेन्डरलगायत विश्वका थुप्रै मुलुकका सरकार तथा राष्ट्रप्रमुखले नमस्ते संस्कार पच्छ्याएपछि यसको वैज्ञानिकता र व्यवहारिकताबारे नयाँ शिराबाट बहस सुरु भएको छ ।
शिर झुकाएर, प्रेम र सद्भावयुक्त मीठो अभिवादन गर्नु हिन्दु धर्म, संस्कृतिको परम्परा नै हो । जसलाई हिन्दु धर्मग्रन्थहरुमा शान्ति र धैर्यको सूचकका रुपमा अर्थ्याइएको छ ।
त्यसैले पनि विश्वका शक्तिशाली नेताहरुले दुई हात जोडेर नमस्कार गरेको तस्वीर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्राथमिकताका साथ छाइरहेका छन् । जुन पूर्वीय सभ्यता र संस्कारको आदरभाव व्यक्त गर्ने विशिष्ट संस्कार हो ।









प्रतिक्रिया दिनुहोस्