Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


वाग्मती सफाइ अभियानको ३५७औं हप्ता पूरा, सात वर्षमा १२ हजार टन बढी फोहाेर उठाइयो


0
Shares

नवीन शर्मा र राममान डंगोल (इमेज)

काठमाडौं, चैत १ । पवित्र वाग्मती नदी सरसफाइ महाअभियानले शनिबार ३५७औं हप्ता पूरा गरेको छ ।

वागमती नदी सफाई अभियन्ता स्व. हुतराम वैद्यको अगुवाइमा सुरु भएको यो अभियानकै कारण वाग्मती नदीमा पानी बग्न थालेपछि जलचरको चहलपहल सुरु भएको छ ।

आजभन्दा झन्डै सात वर्षअघि २०७० साल जेठ ५ गते गुह्येश्वरी मन्दिरको प्रांगणबाट सुरु भएको वाग्मती सफाइ राष्ट्रिय अभियानले अटुट ३५७औं हप्ता पूरा गरेको छ ।

हरेक शनिबार बिहान नियमित सञ्चालन गरिँदै आएको यो अभियानमा नेपाल सरकारका विभिन्न निकाय, सामाजिक–धार्मिक संघ–संस्था तथा वाग्मती सफाइ अभियन्ताहरुले साथ दिँदै आएका छन् ।

यो सात वर्षको अवधिमा वाग्मती नदीमा वर्षौंदेखि थुप्रिएका १२ हजार टनभन्दा बढी फोहर उठाइएको छ । १० लाखभन्दा बढी स्वयंसेवकले वाग्मतीमा प्राण फर्काउन समयदान गरेका छन् ।

यसको परिणाम नदीको वहाब तथा आसपासको क्षेत्रमा देखिइसकेको छ ।

वाग्मती नदी सफाइबाट सुरु भएकोे यो अभियान अहिले वाग्मतीका शाखा नदीहरु विष्णुमती, धोबीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका विभिन्न स्थान तथा भित्री टोलमा समेत विस्तार भएको छ ।

यही अभियानबाट प्रेरित स्थानीय अभियन्ताले उपत्यकाबाहिरका करिब १०० साना–ठूला सहरी नदीमा सफाइ अभियान थालेका छन् ।

यता, सफाइ महाअभियान सञ्चालन हुन थालेपछि वाग्मती नदी क्षेत्रको वातावरणमा सुधार आएको छ । नदीमा सफा पानी बग्न थालेको छ ।

विभिन्न स्थानमा हरियाली पार्क बनाइएको छ ।

नदीमा फोहोर विसर्जन गर्ने काम रोकिएको छ । बालुवा चोरी तथा नदी क्षेत्रको जग्गा अतिक्रमणमा नियन्त्रणमा आएको छ ।

नदी किनारका सम्पदाको संरक्षणसँगै स्थानीयले वृक्षरोपण गर्न थालेका छन् । यो सुखद् परिणाम हो ।

वाग्मती नदी काठमाडौं उपत्यकाको सभ्यता विकासको उद्गम थलो हो । त्यसकारण पनि यसको सफाइ अभियानमा सबैले साथ दिएका छन् । यही अभियानका कारण सहर सफा राख्नुपर्छ भन्ने जनचेतना अभिवृद्धि भएको छ ।

भिडियो हेर्नुहोस्