काठमाडौं, फागुन २७ । ट्राफिक प्रहरीले कोटेश्वर–कलंकी सडकखन्डमा गुड्ने सवारी–साधनलाई नयाँ नियम लागू गर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ गतेदेखि लागू गर्नेगरी नयाँ नियम ल्याउन लागेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक तथा मालवाहक कम गतिमा गुड्ने सवारी–साधनलाई सडकको बायाँ तथा निजी र साना तीव्र गतिमा गुड्ने सवारी–साधनलाई सडकको दायाँ गुड्ने गरी व्यवस्था गर्न लागेको जानकारी दिए ।
‘फराकिलो सडक र तीव्र गतिसँगै उक्त सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि उक्त नियम लागू गर्न लागेका हौं’–उनले भने ।
महाशाखाले उक्त सडकखन्डलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको थियो ।
महाशाखाले यसभन्दा पहिले भक्तपुरको सूर्यविनायकदेखि कोटेश्वरसम्म उक्त नियम लागू गरिसकेको छ ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोटेश्वरदेखि कलंकीसम्मको १० किलोमिटर सडकमा मासिक ८० भन्दा बढी सवारी दुर्घटना हुने गरेको बताउँदै दुर्घटना न्यूनीकरणका लागि उक्त नियम लागू गर्न लागेको जानकारी दिए ।
महाशाखाले उक्त सडकखन्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघन्टा तथा सर्भिस लेनमा २० किलोमिटर प्रतिघन्टाको दरले गति निर्धारण गरिसकेको छ । रासस









प्रतिक्रिया दिनुहोस्