Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


दुई वर्षपछि मलेसियाको रोजगारी सुचारु


234
Shares

काठमाडौं । सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेपछि मेनपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतीक्षामा रहेका नेपाली लामो समयदेखि मलेसिया जाने बाटो खुलेको छ । मलेसियास्थित नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरणका लागि आवेदन दिन आह्वान गरेपछि प्रतीक्षामा रहेका लाखौं नेपाली मलेसिया जाने बाटो खुलेको हो ।

सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेपछि दुई वर्षपछि नेपाली युवा रोजगारीका लागि मलेसिया जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुनअनुसार पुनः सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट आर्थिक वर्ष २०७५/०७६ मा ४२ हजार १ सय ४६, आव २०७६/०७७ मा ५९ हजार ७ सय १४ र गत आवमा १ हजार ३५ युवा मलेसिया गएको उल्लेख छ ।मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकूल नहुने गरी नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।