Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


लाभकर छलीमा बोटलर्सविरुद्ध मुद्दा

साढे सात अर्ब रूपैयाँ माग दाबी

104
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल र त्यसका सञ्चालकविरुद्ध सेयर स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको आरोपमा करिब साढे सात अर्ब रूपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले शुक्रबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फेन्टालगायत हल्का पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो । तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार रूपैयाँ बिगोको सतप्रतिशत जरिवानासमेत कायम गरी सात अर्ब ४३ करोड ६३ लाख रूपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । ‘लामो अनुसन्धानबाट राजस्व चुहावट गरेको भेटियो,’ पौडेलले भने, ‘बोटलर्स नेपालसहित त्यसका सञ्चालकविरुद्ध मुद्दा दायर गरेका छौं ।’

बोटलर्स नेपालको स्वामित्व खरिदबिक्रीमा पुँजीगत लाभकर छलिएको सूचनाका आधारमा विभागले २०७७ मंसिरदेखि अनुसन्धान सुरु गरेको थियो । विभागले बोटलर्स नेपालका सेयरधनीलाई उपस्थित हुन सार्वजनिक सूचनामार्फत आह्वान गर्दा पनि सम्पर्कमा नआएपछि मुद्दा दायर गरेको हो । गत पुस २ गते बोटलर्स नेपाल लिमिटेडका पूर्वअध्यक्ष शुक्ला वासनसहितलाई एक साताभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरिएको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।