Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


महिला उपमेयरलाई मेयरको टिकटका लागि लबिङ गरिने


247
Shares

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले यसअघि उपमेयर/उपप्रमुख भएर काम गरिसकेका महिलालाई पार्टीभित्र मेयर/प्रमुख टिकट दिलाउन महिला नेतृहरूले लबिङ गर्ने बताएका छन् ।

११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पर्क भारतले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, जनता समाजवादी पार्टीलगायतका महिला नेतृहरूले उपमेयर वा उपप्रमुख भएर काम गरिसकेका महिलालाई नै राजनीतिक दलहरूले मेयर वा प्रमुखको उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै यसका लागि आफूहरूले पार्टीमा लबिङ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विसं २०७४ को स्थानीय निर्वाचनमा स्थानीय तहको प्रमुख वा उपप्रमुखको उम्मेदवारी दर्ता गराउँदा कम्तीमा आधा महिला प्रतिनिधित्व हुनुपर्ने कानुनी बाध्यताका कारण उपमेयर/उपाध्यक्षमा ठूलो संख्यामा महिला निर्वाचित भएका थिए । सबैजसो दलले मेयर/अध्यक्षमा पुरुष उठाएर उपमेयर/उपाध्यक्षमा महिलालाई उठाएका थिए ।

महिलाबीचको प्रतिस्पर्धाका कारण उपमेयर/उपाध्यक्षमा देशभरका २ सय ९३ नगरपालिकामध्ये २ सय ७७ मा महिला निर्वाचित भएका थिए । यसरी राजनीतिमा होमिएका महिलालाई अब अगाडि बढाउने दायित्व राजनीतिक दलहरूकै भएको जिकिर गर्दै ती महिला नेतृहरूले महिला उपमेयरलाई यसपटक मेयरमा लड्ने वातावरण बनाइदिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।